Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

 कविता
लक्ष्मीप्रसाद कोइराला,झापा


ओ !
मान्छेहरु हो
आफ्नै भूगोलका
डोको नाम्लो र
चिरपटका किताबहरु
म पढ्दै छु…..!
चिप्लेटी ढुङ्गामा
ठिङ्ग उभिएर
हामी,तिमीहरू
र उनीहरुका
दैनिक पाठ्यक्रमहरु
म पढ्दै छु…..!

खलिया घरको
पाठशालासम्म पुगेर
जीवनका प्रत्येक पानालाई
पल्टाइ पल्टाइ
म पढ्दै छु…..!
घाँस दाउरा र
गोठालाका कथाहरु
दिदी बहिनीले पढेका
ढिकी,जातो र
पधेरोका पाठहरु
म पढ्दै छु…..!

ओ!
मान्छेहरु हो
मेरा दाजुभाइहरुले
सिक्किम दार्जी्लिङतिर
कान्छा,कपतान र नाम्ले भएर
भोगेका हेयका पाठहरु
म पढ्दै छु…..!
अरुले सुट्केस बोकेको देखेर
म नजन्मिदै विदेशिएका
बाउ र काकाहरुले
आज जेलबाटै लेखेका
दुस्खका चिठीहरु
म पढ्दै छु…..!

ती चिठीहरु
जुन पढ्दा पढ्दै
एफ एम रेडियाको
भोलुम ठूलोहुँदा
कानमा थुरियो
कानेगुजी झिक्न
विदेश गएका
मान्छेहरुको मृत्यु
समाचार सुन्दा
अनि म रोएँ धुरुधुरु
त्यसपछि आमापनि हिडिछन्
बाउ खोज्न शहरतिर
मोबाइल बोकेर
सायद भेट्छिन होला
बाउलाई एरपोर्ट्मा
जम्बो जेटले ल्याएको
त्यो कफिनभित्र
नत्र राहतका
खाली चेकहरु
अनि ढुस्सी परेको
एकदुईकिलो चामल
हेलिकप्टरले बोकेर
गोदाममा सडाउने
त्यो खाद्यविज्ञान
म पढ्दै छु…..!

कतै भेटिन्छन् कि
ती अधिकारका
एकथान ठेलीहरु भनेर
धुइपत्ताल खोज्दै
सबै किताबहरु
म पढ्दै छु……!
तर म पाउदिन,किन?
सायद हुन सक्छ
माइतीघर मन्डलातिर
कुर्लिदै होलान्
या भित्तामा ब्यानर
लगाउने या नलगाउने विषयमा
बहस चलाउदै होलान् भनेर
म पढ्दै छु…..!

बुढोभाइको बैँस मै
चाउरिएका गाला
सेतो झुस्स दाह्री
दुबै हत्केलामा उठेका
ठेलाका माम्रीहरु
र मोहन कोइरालाको
फर्सीको जरा
म पढ्दै छु…..!
महङ्गीको दुईछाक भात
एकभुटुन तेलमा
ओल्सेको तरकारी
लाज छोपेको
पोलिस्टरको सर्ट
पानी चुहुने
घरको छानो
अनि तिम्रो
त्यो बाणिज्यशास्त्र
र अर्थशास्त्रको उत्पादन
म पढ्दै छु…..!

त्यो धाबीको
बटिया खेतमा
थापा काजीका
एकहल पानाका गोरु
आलिआली लगेर
हलो जोत्ने
रामचन्द्रे मुसहरलाई
बासी भातको
कलौ दिएर
दहीचिउरा र केरा खाने
साहू महाजनको
मनोविज्ञान
अनि मङ्गलीले
खलखली चुहाएको
त्यो पसिनाको
नपाएको मूल्यशास्त्र
म पढ्दै छु…..!
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments