काठमाडौँ, २६ साउन २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राजधानी वासिङ्टन डीसीमा बसोबास गर्ने घरबारविहीनलाई ‘तुरुन्तै’ बाहिर जान निर्देशन दिएका छन् । सहरमा अपराध नियन्त्रण गर्ने योजनाको एक हिस्साका रूपमा उनले घरबारविहीनलाई लखेट्ने योजना ल्याएका हुन् ।
“हामी तपाईंहरूलाई बस्ने ठाउँ दिनेछौँ, तर राजधानीबाट धेरै टाढा,” ट्रम्पले आइतबार ट्रुथ सोसलमा लेखेका हुन् ।
तर, डीसीका मेयर मुरियल बोउसरले ह्वाइट हाउसले राजधानीलाई इराकको राजधानी बगदादसँग तुलना गरेको भन्दै आपत्ति जनाएकी छन् ।
राष्ट्रपति ट्रम्पले सोमबार सहरलाई पहिलेभन्दा सुरक्षित र सुन्दर बनाउने योजनाबारे पत्रकार सम्मेलनको घोषणा पनि गरेका थिए ।
तर, डेमोक्र्याट मेयर मुरियल बोउसरले अपराधमा वृद्धिको दाबीलाई खण्डन गर्दै भनिन्, “हामीले अपराधको वृद्धि भोगिरहेका छैनौँ ।”
गत महिना ट्रम्पले घरबार विहिन व्यक्तिहरूलाई पक्राउ गर्न सजिलो बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
गत हप्ता उनले वासिङ्टन डीसीका सडकहरूमा संघीय कानुन प्रवर्तन बल तैनाथ गर्ने आदेश दिएका थिए । “घरबारविहीनहरूले तुरुन्तै बाहिर जानुपर्छ,” ट्रम्पले भनेका छन्, “हामी तपाईंहरूलाई बस्ने ठाउँ दिनेछौँ, तर राजधानीबाट धेरै टाढा । अपराधीहरू, तपाईंहरूले बाहिर जानुपर्दैन । हामी तपाईंहरूलाई जेलमा राख्नेछौँ, जुन तपाईंहरूको स्थान हो ।”
टेन्ट र फोहोरका तस्बिरसहित उनले थपेका छन्, “अब नरम व्यवहार हुने छैन । हामी हाम्रो राजधानी फिर्ता चाहन्छौँ । यो विषयमा ध्यान दिएकोमा धन्यवाद १”
ट्रम्पको योजनाको विवरण अझै स्पष्ट छैन । तर, सन् २०२२ मा उनले गरेको एक भाषणमा उनले घरबारविहीन व्यक्तिहरूलाई सस्तो जग्गामा उच्च गुणस्तरको टेन्टमा स्थानान्तरण गर्ने र बाथरुम तथा चिकित्सकहरूको पहुँच प्रदान गर्ने प्रस्ताव गरेका थिए ।
शुक्रबार, ट्रम्पले अमेरिकी पार्क प्रहरी, ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन, एफबीआई, र अमेरिकी मार्सल्स सर्भिससहितका संघीय एजेन्टहरूलाई वासिङ्टन डीसीमा तैनाथ गरेका थिए ।
ह्वाइट हाउसका एक अधिकारीले नेसनल पब्लिक रेडियोलाई बताएअनुसार, शनिबार राति ४५० संघीय अधिकारी तैनाथ गरिएका थिए ।
बीबीसीबाट ।






