Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

विराटनगर, २६ साउन २०८२ । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ पुलचोकस्थित पुनर्स्थापना केन्द्र (सुधार केन्द्र) मा एक जना युवक मृत भेटिएका छन्।

प्रहरीका अनुसार न्यू स्टेप नामक पुनर्स्थापना केन्द्रमा राखिएका पथरीशनिश्चरे–२ बोक्रेका २१ वर्षीय विवेक दर्नाल झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। पुनर्स्थापना केन्द्रका कर्मचारीले शौचालयको भेन्टिलेसनमा तन्नाको पासो लगाएर झुन्डिएको अवस्थामा बिहान ९ बजेतिर फेला पारेको बताइएको छ। कर्मचारीले तत्काल तन्ना काटेर उद्धार गर्दै दर्नाललाई उपचारका लागि नगर अस्पताल पथरी पुर्‍याए।

चिकित्सकले ९ः५५ बजेतिर उनलाई मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ। लागुऔषधको कुलतमा फसेका दर्नाललाई अभिभावकले साउन १७ गते सुधार केन्द्रको जिम्मा लगाएका थिए। लागुऔषधको लतबाट छुटाउन र सुधार गरेर समाजमा पुनर्स्थापना गराउने अपेक्षासहित अभिभावकले जिम्मा लगाएका दर्नाल अचानक झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

दर्नालको मृत्युको कारण खुल्न बाँकी रहेको र शवलाई पोस्टमार्टमका लागि झापाको दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। डीएसपी अर्यालले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। ‘शवलाई पोस्टमार्टमका लागि पठाएर अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘प्रारम्भिक रूपमा हेर्दा झुन्डिएर मृत्यु भएको देखिए पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्छ।’

सुधारका लागि भनेर लागुऔषधको कुलतमा फसेका १४ जनालाई हाल पुनर्स्थापना केन्द्रमा राखिएको छ। त्यहाँ राखिएकालाई पछिल्लो समय उक्त पुनर्स्थापना केन्द्रमा चरम यातना दिने गरिएको विषय बाहिर आइरहेको छ। विशेष गरेर लागुऔषध र मदिराको कुलतमा फसेकालाई आफन्तले सुधारका लागि भनेर पुनर्स्थापना केन्द्रको जिम्मा लगाउने गरेका छन्। त्योबापत सुधार केन्द्रलाई पैसा बुझाउनुपर्ने हुन्छ।

तर, निश्चित रकम लिँदै सुधारका लागि भनेर राखिएकालाई सुधार केन्द्रका सञ्चालक र कर्मचारीहरूले कुटपिट गर्ने, यातना दिने तथा विभिन्न श्रममा लगाउने गरेको गुनासो आइरहेको हो। केन्द्रभित्र दिइने यातना सहन नसकेरै दर्नालले पनि आत्महत्या गरेको हुनसक्ने अनुमान छ। पुनर्स्थापना केन्द्रले भने यातना दिने गरिएको आरोपलाई अस्वीकार गरेको छ।

केन्द्रभित्र कुटपिट गर्ने र यातना दिने काम नहुने सञ्चालकमध्येका कुमार विष्टले बताए। ‘कुलतमा फसेकालाई सुधार गर्नका लागि केन्द्रमा राख्ने गरिन्छ। उनीहरूलाई राम्रो व्यवहार गरिन्छ। कुटपिट गर्ने र यातना दिने गरिएको छैन। यो आरोप सरासर गलत हो,’ उनले भने। झुन्डिएको अवस्थामा मृत फेला परेका दर्नाललाई केही दिनदेखि मात्रै पुनर्स्थापना केन्द्रमा राखिएको विष्ट बताउँछन्।

‘लागुऔषधको कुलतबाट मुक्त गर्न केन्द्रमा राखिएको हो। केही दिनदेखि लागुऔषध सेवन गर्न पाएको थिएन। त्यसकै तनावले झुन्डिएर आत्महत्या गरेजस्तो देखिन्छ। केन्द्रका कर्मचारीले शौचालयभित्र झुन्डिएको भेटेका हुन्,’ उनले भने। प्रहरीले घटनाको अनुसन्धान थालेकाले अनुसन्धानबाटै सबै कुरा यकिन हुने विष्टको भनाइ छ।

 

तपाईको प्रतिक्रिया