Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

डोटी, १७ माघ । तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दीपायल विमानस्थलको कालोपत्र अहिले द्रुत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन ।

पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ ।

विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महिनासम्म कालोपत्र पनि गरिसक्ने त्यहाँ कार्यरत सपना गाल्भा जेभी निर्माण कम्पनीले जनाएको छ । रु छ करोडको लागतमा सो विमानस्थल निर्माणका लागि बोलपत्र स्विकृत गरिएको थियो ।

करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विसं ०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताए । लम्बाइ ४९५ मिटर र २० मिटर चौडाइको धावनमार्ग भएको उक्त विमानस्थल कालोपत्र हुन थालेसँगै स्थानीयवासी खुशी भएका दीपायल–सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।

उनले भने, ‘निर्माणकार्य पहिले नै सक्नुपर्ने हो तर फागुनमा सकिने जानकारी दिएकाले स्थानीयवासी खुसी भएका छन् ।’

पछिल्लो समय विमानस्थलको काम देखेर वर्षौंदेखिको विमान सञ्चालन हुने सपान अब पूरा हुन्छ कि भन्ने आशा पलाएको अर्का स्थानीयवासी मोहन पनेरुले बताए । उनले भने, ‘घरआँगनमै विमानस्थल हुँदासम्म पनि सञ्चालन नहुँदा आपतकालीन सेवाका लागि समस्या हुने गरेको थियो, अब समस्या समाधान हुन्छ कि ।’

विमानस्थल सञ्चालनमा आउन सकेको खण्डमा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका स्थानीयवासीलाई समेत हवाई यात्राका लागि सहज हुनुका साथै यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए ।
रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments