Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाण्डौ, ११ माघ । सरकारले ओमानसँग पनि छिटै श्रम सम्झौता गर्ने भएको छ । श्रम सम्झौताको तयारीका लागि नेपाली टोली शनिबार ओमान जाँदैछ । सम्झौताका लागि ओमानले दुई महिनाअघि खाका पठाएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको पाँच सदस्यीय टोलीले ओमानको प्रस्तावमा छलफल गरेर आफ्नो प्रस्ताव तयार पारेको छ ।

नेपालले ओमानसँग श्रमिकमाथि व्ययभार तथा ठगीमा नपर्ने गरी श्रम सम्झौता गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । एमओयूमा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बीमा, महिना पूरा भएको निश्चित समयमा तलब बैंक खातामै दिनुपर्ने व्यवस्था र राहदानी कामदारले राख्न पाउने गरी प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ ।

शनिबार ओमान जाने नेपाली टोलीले आइतबार र सोमबार वार्ता गर्नेछ । ओमासँगको वार्तापछि टोली त्यतैबाट यूएई जानेछ । यूएईसँग बुधबार र बिहीबार छलफल हुनेछ । यूएईसँग भने यसअघि भएको श्रम समझदारी नवीकरणका लागि छलफल हुने मन्त्रालयले जनाएको छ । यूएईसँग सन् २००७ मा एमओयू भएको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक जाने देशहरुसँग श्रम सम्झौता गर्ने र भएका समझदारीहरुको पनि नवीकरण गर्ने निर्णय गरेपछि यूएईले डेढ महिनाअघि नवीकरणका लागि एमओयूको मस्यौदा पठाएको थियो ।

दुवै देशसँग गरिने सम्झौता र समझदारीमा शून्य लागतलाई जोड दिने सरकारले जनाएको छ । टोलीले वार्ता गरेर नेपालको प्रस्तावमा छलफल गरेपछि सहमति गर्न सकेमा दुवै सरकारको मन्त्रीस्तरमा हस्ताक्षर हुनेछ ।

काठमाण्डौमा सम्पन्न नेपाल कोलम्बो प्रोसेसको बैठकले शून्य लागतमा कामदार पठाउने निर्णय गरेको र जीसीएम (ग्लोबल कम्प्याक्ट फर माइग्रेसन) का धेरै सदस्य देशहरु पनि शून्य लागत कार्यान्वयन गर्न सहमत भएकाले नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी शून्य लागतमा समझदारी गर्न लागेको हो ।

सरकारले यसअघि मलेसियासँग दुई पक्षीय श्रम सम्झौता गरिसकेको छ । सम्झौता भएको लामो समयसम्म पनि कामदारका लागि मलेसिया जाने बाटो नखुलेको भन्दै आलोचना भइरहे पनि सरकारले आउँदो मार्चदेखि कामदार जान पाउने बताएको छ ।

मलेसियाले मार्चबाट नयाँ प्रणालीमार्फत कामदार लान सुरु गर्ने भएकाले त्यसपछि नेपालीका लागि मलेसियाको रोजगारी खुल्ने मन्त्रालयको भनाई छ ।

उज्यालोअनलाइनबाट

तपाईको प्रतिक्रिया