Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

काठमाडौं, ७ जेठ २०८२ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा प्रेस काउन्सिल नेपालमा ३४६ मिडियाविरुद्ध २४६ वटा उजुरी परेका छन् ।

२०८१ साउन १ गतेदेखि २०८२ वैशाख मसान्तसम्मको अवधिमा मिडियाविरुद्ध चारवटा जनगुनासो पनि परेको प्रेस काउन्सिलले जनाएको छ । “दर्ता भएका उजुरीमध्ये ११६ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, ११४ वटा गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, पाँचवटा बार्गेनिङ, ११ वटा हुबहु रहेका छन्,” प्रेस काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, उक्त अवधिमा दर्ता भएका २४६ मध्ये कुल १४९ वटा (६०.५७ प्रतिशत) उजुरी फछ्यौट भएको विज्ञप्तिमा जनाइएको छ । “आचारसंहिता बमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन सञ्चारमाध्यमलाई अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको छ भने तीनवटालाई सूचीकरणबाट समेत हटाइ थप कारबाही गरिएको छ,” प्रेस काउन्सिलले भनेको छ ।

अवज्ञाकारीरकालोसूचीमा राखी कारबाही गरिएका मध्ये क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता व्यक्त गरी निवेदन दिने पाँचवटालाई कालोसूची फुकुवा गरिएको जनाइएको छ । निर्देशनरसचेत गराउँदै ससर्त कालोसूची फुकुवा गरिएको जानकारी गराइएपछि काउन्सिलका बारेमा आधारहीन, भ्रमपूर्ण, मिथ्या सामग्री सम्प्रेषण गर्ने एक सञ्चारमाध्यमलाई पुनः स्पष्टीकरण सोधिएको छ ।

बितेको १० महिनामा हिंसा, आतंकलाई प्रश्रय पुग्ने, द्वैष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) ६, फेसबुक पेज पाँच तथा ६ वटा अनलाइनलाई सचेत गराइएको छ ।

“निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई अनदेखा गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्तारसूचीकरण नभएका ६५ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया