जेबि खड्का
गौरादह, १ जेठ २०८२ । गौरादह नगरपालिकाले नगर भित्र रहेका सामुदायिक बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समिति अध्यक्षहरुलाई समावेशी शिक्षा सम्बन्धि तालिम दिइएको छ।
कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय, गौरादह नगरपालिका र करुणा फाउन्डेसनको लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेशको सहकार्यमा २ दिने तालिम सम्पन्न भएको हो। अपाङ्गता भएका र सिकाईमा कमजोर क्षमता भएका बिद्यार्थीलाई प्रभावकारी शिक्षणका बारेमा प्रशिक्षण दिइएको थियो।
गौरादह नगरपालिका शिक्षा शाखा प्रमुख बिदुर आचार्यले सहभागीहरुलाई प्रशिक्षण दिदै समाजमा रहेका शारीरिक, मानसिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई बिद्यालय सम्म ल्याएर शिक्षण गर्ने तरिकाका बिषयमा जानकारी गराएका थिए। बिद्यालयका भवनहरु अपाङ्ग मैत्री नहुदा त्यस्ता बालबालिकालाई असहज हुने भएकाले बालबालिकाहरुका लागि सहज बाइदिनु पर्ने बताएका थिए। शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु बिद्यालय आउन हिच्किचाउने र अन्य बिद्यार्थीहरुले जिस्काइ दिएमा बिद्यालय आउन नमान्ने हुन्छन। अपाङ्गता भएका बिद्यार्थीहरुका लागि बिद्यालयमा शिक्षक तथा बिद्यार्थीहरुले सहज वातावरण बनाउनु पर्ने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी गराएका थिए। अपाङ्गता भएका बालबालिकाहरु गाउँघरमा रहेको भएमा उनीहरुलाई पनि अन्य बालबालिका सँग घुलमिल गराई शिक्षाको मुलधारमा ल्याई प्रभावकारी शिक्षण गर्नुपर्ने आचार्यले बताएका थिए। शिक्षा शाखा प्रमुख आचार्यले सहभागीहरुलाई तालिममा समाबेशी शिक्षाको अवस्था, समस्या, लैंगिक समानता, अपाङ्गतामा समाबेशी गर्नुपर्ने कारण, समता,समानता र न्यायमा पहुँच, अपाङ्गता बालबालिकाका लागि भएका शिक्षा प्रणालीका अभ्यास, समाबेशी शिक्षामा राष्ट्रिय निति तथा वचन बद्दताका बिषयमा प्रशिक्षण दिएका थिए।
करुणा फाउन्डेसनका गौरादह प्रमुख सुशील राज बरले अपाङ्ग बालबालिकाहरुको पहिचान, प्रकारका बारेमा जानकारी गराउदै शिक्षामा सहज पहुँचका बिषयमा जानकारी गराएका थिए। बरले अपाङ्ग बालबालिकाहरुका बिषयमा संस्थाले गर्ने सहयोगका बारेमा पनि जानकारी गराएका थिए।
तालिमामा सहभागीहरुले अपाङ्ग र सापाङ्ग बालबालिकाहरुलाई दिइने सहज शिक्षाका बिषयमा जिज्ञासा राखेका थिए। सामुदायिक बिद्यालयको शिक्षामा राज्यको लगानी भएपनि बिद्यार्थी संख्या दिनप्रतिदिन घट्दै गएकोमा चिन्ता ब्यक्त गरेका थिए। सामुदायिक बिद्यालयमा शिक्षा नि:शुल्क भएपनि संस्थागत बिद्यालय प्रति अभिभावक र बिद्यार्थी आकर्षित भएको जानकारी गराएका थिए।
गौरादह नगरपालिका उपमेयर जलबर्षा राजवंशी (चौधरी) को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। त्यस अवसरमा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, प्रधानाध्यापक तिर्थ भुजेल, ब्यबस्थापन समिति अध्यक्ष निर्मल बाँस्तोलाले शुभकामना मन्तब्य राखेका थिए। गौरादह नगर महिला बालबालिका शाखा प्रमुख कबिता तुम्माम्फो सुब्बाले कार्यक्रम संचालन गरेकी थिइन।






