Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

काठमाडौं, २४ साउन २०८१ । पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड सेबोनसँग अनुमति मागेको छ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो। आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ। पिपुल्सलाई आइपीओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो। धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ।

कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

२०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ्, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए।

आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानकार्य जारी छ। आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङ्ग–खिम्ती शवस्टेशनमा चार्ज गर्ने गरी भित्रने लुप इन र बाहिरिने लुप आउट १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको कामसमेत जारी रहेको अर्यालले बताए।

सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ।

 

तपाईको प्रतिक्रिया