Online Bichar
मंगलबार, जेठ ०८, २०८१ | Tuesday, May 21, 2024

काठमाडौं, ३ वैशाख २०८१ । एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालका लागि करण केसीले हङकङको विकेट लिएका हुन्।२.१ ओभरमा हङकङका मार्टिन कोएत्जी केसीको बलमा आसिफ शेखबाट क्याच आउट भएका हुन्। उनले ७ बलमा ८ रन बनाए।

वर्षाका कारण खेल १८ ओभरमा घटाइएको छ। हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ। समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्।

नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्। हङकङले सेमिफाइनलको यात्रा तय गर्न आज नेपाललाई हराउनुपर्ने दबाब छ।
समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानर युएई चार अंककै साथ दोस्रो स्थानमा छ।

अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो। समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ। प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।

 

तपाईको प्रतिक्रिया