Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

काठमाडौँ, ३ फागुन २०८० । नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति १९९ सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको स्थायी समिति सदस्य हितबहादुर तामाङले जानकारी दिए।

प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव थियो तर विधान अधिवेशनले संख्या बढाएर १९९ बनाउने निर्णय पारित गरेको हो।

कार्यालय ११ जनाको बनाउने, स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउने निर्णय भएको पनि उनले बताए।

पार्टीका सबै तहका समिति निर्वाचन प्रक्रियाबाट चयन गर्ने निर्णय गरेको पनि तामाङले जानकारी दिए। अधिवेशनमा सहभागी प्रतिनिधिबाट चयन गर्ने गरी विधानमा व्यवस्था गरिएको हो।

यसअघि सहमतिको नाममा टीके प्रथाबाट चयन गर्ने गरेको भन्दै पार्टीभित्र व्यापक आलोचना हुने गरेको थियो।

केन्द्रीय सदस्य सबैले पदाधिकारीमा दावी गर्न सक्ने र केन्द्रीय सदस्यले मात्रै मतदान गरेर पदाधिकारी चयन गर्ने निर्णय माओवादीले गरेको छ।

माओवादीले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने भएको छ। विधान सम्मेलनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न फेर्नुपर्ने माग गरे पनि तत्काल नाम र चिह्न नफेर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका हुन्।

माओवादी केन्द्रले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले नेकपा अभियान सञ्चालन गर्ने बताएका हुन्।

 

तपाईको प्रतिक्रिया