Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

झापा, १४ मंसिर २०८० । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो ।

ब्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पुर्याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन् ।

कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उनले सुनाइन् । सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो ।

सञ्जिताले ओमानमा सकसपूर्ण ४० दिन बिताएकी थिइन् । उद्धारपछि यही मङ्सिर ११ गते उनी घर आइपुगेकी हुन् । घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्। उनले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकले रु दुई लाख ५० हजार माग गरेको बताइन् ।

उहाँ ‘हेयर स्टाइलिस्ट’को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वल्र्ड म्यानपावर कम्पनीको विर्तामोड शाखामार्फत ओमान पुगेकी थिइन् । विर्तामोडमा रहेको अप्सरा ब्यूटीपार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई म्यानपावरमार्फत आफूलाई ओमान जान प्रलोभन देखाएको सञ्जिताले सुनाइन् ।

ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यहरुले उद्धारका लागि स्काइ मेनपावर कम्पनी र अप्सरा ब्यूटीपार्लर गुहारेका थिए । दुबै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजबंशी सांसद विश्वप्रकाश शर्मालाई भेट्न गएका थिए ।
सांसद् शर्माले ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार भएको थियो । ओमान जाँदा रु एक लाख ५० हजार म्यानपावर कम्पनीले लिएको सञ्जिताले बताइन् । उद्धारपछि घर फर्किदा निःशुल्क आउन पाएको उनले सुनाइन् ।

 

तपाईको प्रतिक्रिया