महासंघले आज बुझायो ध्यानाकर्षण पत्र
गौरादह, २ फागुन । नेपाल शिक्षक महासंघ गौरादहले शिक्षकहरुका माग यथासिघ्र पूरा गर्न अनुरोध गर्दै नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
गत माघ २८ गतेदेखि प्रथम चरणको आन्दोलन घोषणा गरेको शिक्षक महासंघ गौरादहले आज आइतवार नगरपालिकामा १३ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल शिक्षक महासंघ नगर समिति गौरादहका अध्यक्ष बाबुराम भण्डारीले नगर प्रमुखको कार्यकक्षमा ध्यानाकर्षण पत्र बाचन गरि नगर प्रमुख रोहित कुमार शाहलाई बुझाएका थिए ।

ध्यानाकार्षण पत्र बुझाउदै अध्यक्ष भण्डारीले नगरपालिकाले यथासिघ्र महासंघको माग पूरा नगरे शिक्षकहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन नगर शिक्षा ऐन निर्माण गरी शिक्षामा स्पष्ट दृष्टिकोण सार्वजनिक गरिनुपर्ने उनको भनाई छ । शिक्षा क्षेत्रमा स्थानीय सरकारले न्युन बजेट बिनियोजन गरेको र त्यसमा पनि पुषको नगर परिषद बाटै बजेट बटौति हुनु दुखद भएको भन्दै अध्यक्ष भण्डारीले मागपत्र हस्तान्तरण गर्दै नगरपालिका प्रति खेद ब्यक्त गरेका छन् ।
नेपाल शिक्षक महासंघ गौरादहले बुझाएको १३ बुँदे माग जस्ताको त्यस्तै –
१, नगर शिक्षा ऐन निर्माण गरी लागु गरियोस् ।
२, नगर शिक्षा समिति अविलम्ब गठन गरियोस् ।
३, विद्यालयमा कार्यरत सहयोगी कर्मचारी र बालबिकास शिक्षकहरुलाई अन्तराष्ट्रिय श्रम ऐनले तोके बमोजिमको न्युनतम् पारिश्रमिक रु. १३,४५० रकम र विद्यालय सहायक कर्मचारी(लेखापाल)लाई खाइपाई आएकोमा ६० प्रतिशत गरी उपलब्ध गराइयोस् ।
४, नेपाल सरकारको सशर्त अनुदान बापतको रकमबाट योजनामा बिनियोजित शिक्षा क्षेत्रको बजेट रकममा कन्टेन्जेन्सी र टि.डि. एस. कटाउने ब्यवस्था हटाइयोस् ।
५, शिक्षाको बजेट छुट्याउदा नगरपालिकाको आन्तरिक बजेटको कम्तिमा १० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरियोस् ।
६, कक्षागत दरबन्दीको ब्यवस्था गरियोस् ।
७, साबिक उमावि (१०+२) मा सामाजिक विषय थपिएको हुँदा उक्त विषयको दरबन्दिको ब्यवस्था गरियोस् ।
८, हुमेरको हद ६० बर्ष पार गरेका विद्यालय कर्मचारी तथा बालबिकास शिक्षकहरुलाई कम्तिमा एकमुष्ठ रु ५,००,०००(पाँचलाख) अनुदान दिइयोस् ।
९, विद्यालयमा संचालित बालक्लब, जुरेस, स्काउट लाई अवस्यकता अनुसार परिचालन खर्च बजेटको ब्यवस्था गरियोस् ।
१०, अंग्रेजी माध्यमबाट संचालित विद्यालयहरुलाई पाठ्यपुस्तक बापत थप बजेटको ब्यवस्था गरियोस् ।
११, विद्यालयहरुलाई समय अनुसारको मसलन्द रकम बढाइयोस् ।
१२, नगर भरिका विद्यालयमा कक्षा ५, ८, १० र १२ का उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरियोस् ।
१३, नगरपालिकामा हुने शिक्षा सम्बन्धि नीति निर्माण र योजना तर्जुमामा शिक्षक महासंघको अनिवार्य सहभागिता गराउने ब्यवस्था गरियोस् ।






