Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

झापा, १० असोज २०७७ । झापामा एकजना असइसहित चार प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । मल व्यवसायीसँग आर्थिक लेनदेन गरेको भेटिएपछि एक जना असइसहित चारजना प्रहरी कर्मचारी निलम्बनमा परेका हुन् ।

निलम्बित हुनेहरुमा असइ भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भीमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार गत भदौ २४ गते बिल बिना युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए ।तर माथिल्लो तहमा खबरै नगरी भोलिपल्टै छाडेका थिए ।

पण्डितले प्रहरीको चेन अफ कमाण्ड उल्लंघन गरेका कारण निलम्बनमा राखिएको बताउँदै उनीहरुमाथि छानविन भइरहेको जानकारी दिए । सामान पक्राउ परेपछि माथिल्लो निकायलाई खबर गर्नुपर्नेमा उनीहरुले त्यतिकै छाडिदिएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।

मल व्यापारीहरुसँग आर्थिक लेनदेन भए–नभएको र के कति भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । उनीहरुले ६५ हजार रुपैयाँ घुस लिएर ट्याक्टर छाडेको आरोप छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले घटना भएलगत्तै चारजना प्रहरीलाई निलम्बन गरिएको बताउँदै उनीहरुमाथि छानविन भइरहेको जानकारी दिए ।टाइम्स अफ प्रदेशबाट साभार

 

तपाईको प्रतिक्रिया