Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
लेखकः डण्डिराज घिमिरे“बिबेक”

–डण्डिराज घिमिरे

“लेखक भनेको मानव चेतनाको इन्जिनियर हो”। – स्टालिन

तीन दशक लामो कविता विद्याको साधना पछि स्टालिनले भनेझैं मानव चेतनाको इन्जिनियर बनेर आफ्नै भूगोल नामक कवितासंग्रह मार्फत कवि लक्ष्मिप्रसाद कोइराला पाठक समक्ष सार्वजनिक भएका छन् ।

चालिसको दशक देखि नै साहित्य लेखनमा सक्रिय कोइरालाका सयौं फुटकर रचनाहरु पत्रपत्रिका, अनलाइन तथा सामाजिक संजालमा प्रकाशित भएता पनि पुस्तकका रुपमा यो आफ्नै भूगोल पहिलो कवितासंग्रह हो ।

प्रगतिवादी र विद्रोही चेतनाका कवि कोइरालाले यस कविता संग्रहमा आफ्ना अनुभुतिहरुलाई सरल, सहज र स्व्तःस्फूर्त ढंगले प्रस्तुत गरेका छन् । जम्मा २८ वटा कविताहरुको बिटो हो आफ्नै भूगोल । पृथक स्वाद सबै कविताहरुको विशेषता रहेको छ भने विषय विविधता पनि प्रचुर मात्रामा पाइन्छ ।

यस कृतिले नेपाली समाजको विगत र आगतको बस्तुस्थितिलाई सुदुर गाउँसम्मले बझ्ने सरल विषय र भाषा शैली बोकेको छ । ग्रामिण प्राकृतिक बिम्बहरुलाई कुशलता पूर्वक खेलाउदै युग चेतना र जीवन चेतनाको आसलाग्दो प्रकाश छर्नु आफ्नै भूगोलको शक्तिशालि गुरुत्वाकर्षण हो । अखण्ड नेपालको भूगोल माथिको अतिक्रमण बिरुद्ध कविको आक्रोस यस्तो छ ः नाकाबन्दी लगाएर
ताली बजाउनेहरु
जङ्गे पिलर उखेलेर
सुस्ता, महेशपूर चिथोर्नेहरु
ती तिनै हुन् ।
( ती तिनै हुन् , पृष्ठ– ३२ )

विडम्बनायुक्त नेपाली राजनीतिको तीतो यथार्थ माझ राष्ट्र र राष्ट्रियताको पक्षमा कविले बलियो खबरदारी गरेका छन् । देश, जनता, क्रान्ति र परिवर्तनको पक्षधरता मुखरित गर्दै स्वाभिमानी नेपालीहरुको बलिदानीपूर्ण जगमा उभिएर उनले जङ्गे पिलरमा गिद्धेनजर लगाउदै सुस्ता र महेशपूर चिथोर्नेहरुको विरुद्ध धावा बोलेका छन् ।

नामको परिवर्तनले मात्र नागरिकको जीवन व्यवहारमा परिवर्तन नआउने निश्कर्षमा पुगेका कवि आफ्ना रचना मार्फत वर्तमान संग यसरी विद्रोह बोल्छन् ः

नारा कृषि क्रान्तिको
मजदुरी अबुधाबीमा
यता धवीखेत बाँझै हुँदा
मलाई चिन्ता छ ।
(मलाई चिन्ता छ , पृष्ठ– २५ )

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

राजनीतिक नेतृत्वको भनाइ र गाराईको भिन्न जाँतोमा पिसिएको नेपाली समाजमा सिर्जित विसंगत पक्ष प्रति पनि कविको ब्यग्र चिन्ता छ । शासकका क्रान्तिकारी भाषणको लेपनमा जीवनका निश्च्छल मन र पवित्र पाइलाहरुले कसरी धोकाको घाउमा बाँच्नु परिरहेको छ भन्ने बैदेशिक रोजगारीमा रहेका लाखौं युवाको बस्तुसत्य पिडालाई समेत यस कृतिले मुखरित गरेको छ ।

लोक जीवनलाई आँसुमा रुझाउने, नागरिकलाई अराजकतामा फसाउने, राजनीतिको आडमा सोझासाझा जनतालाई भारिबोक्ने खच्चर बनाउन खोज्नेहरु प्रति कवि कोइराला यसरी उत्रिन्छन् ः

किसानलाई मलबिउ चाहियो रे लिन साझा गा’को
कृषि मन्त्रालय नै बेखबर हुँदा नलिकन आ’को
सारा गाउँमा हा–हाकार कुटाकुट मारामार
वास्ता छैन मन्त्रीलाई न अरुको सरोकार ।
– (लौ हेर पशुपति, नेपालको गति, पृष्ठ– ९६)

प्रगतिशिल चेतनाबाट प्रेरित अधिकांश कविताहरुले ग्रामिण परिवेश देखि शहरिया उपभोक्तावादी संस्कृतिको विसंगतिपूर्ण वर्तमानलाई व्याङ्ग्यचेतको बलियो सिस्नुपानी लगाएका छन् । आशाबादका पक्षधर कवि कोइरालाले मुलुकमा भएका बिभिन्न कालखण्डका क्रान्तिका पृष्ठभूमिमा शान्तिको कामना गरेका छन् अपितु त्यो मुर्दा शान्ति भने पटक्कै होइन ।

भरो भरो सबले भरो पहिला आफ्नो गोजी भरो
सोझासिधा जनताको पेटमा मुसा कुद्ने परो
के को वास्ता दुनियाँलाई स्वार्थीको दुनियाँ भो
के साह्रो भो भो हाम्रो नेपालमा हुनसम्मा भो ।
( के साह्रो भो भो, पृष्ठ – ८५)

राजनीतिक नेतृत्वको गलत कृयाकलापले समाजमा सिर्जित विसंगत पक्षको बिरुद्ध यस कृतिमा कविको कलम सशक्त उभिएको छ । बैचारिक रुपमा सबल देखिएका कवि कोइरालाले इतिहाँसलाई शक्तिको पक्षमा नभई सत्य र न्यायको पक्षमा ओकल्ने हिम्मत गरेका छन् । नेतृत्वको निर्णय क्षामता र दुरदर्शिताका सवालमा तेर्सिएका सबालहरुलाई यसरी केलाएका छन् ।

भोलिपल्ट बुढो गिद्धलाई
मयुर बनाइएको अभिनय गरे
कसैले आधी सच्चियो भन्दै कुर्ले रे !
साढुभाइहरुले बलात्घात खाएपछि
पश्चाताप गर्नथाले ।
(समयबोध, पृठ– ६४)

प्रकृति र जीवनलाई युगिन सन्दर्भमा अनुभूत गरी कविले प्रकृति नै जीवन भोगाई र सिकाइको विद्यालय भएको यसरी चित्रण गरेका छन् । पेशाले शिक्षक रहेका कवि कोइरालाको ठम्याइमा जीवन भनेकै सिकाइको पर्याय हो ।

मैले पूर्वमा उदाउदो सूर्यलाई हेरेर सोधेको छु,
उसले मलाई हेरेर मान्छे जगाउन सिक भनेको छ,
मैले त्यसरी नै मान्छे जागा गराउन पनि सिकेको छु ।
(प्रकृति र मेरो सिकाई, पृष्ठ– ४८)

अमूर्त भित्र मूर्त चेतना दिने आफ्नै भूगोल भित्रका कविताले जीवन दर्शनका विविध गाँठाहरु खुकुलो बनाएका छन्, पाठकले ती गाँठाहरु फुकाउँदा भावको गहिराइमा ओर्लने सजिला खुट्किलाहरु पनि भेट्ने छन् । त्यसैले भन्न सकिन्छ कविताहरु गाह्रा हँुदाहँुदै पनि सजिला र सजिला भएर पनि गाह्रा लाग्ने छन् ।

कवितासंग्रह भित्रका धेरै बास्यौ, तपाईं जेसुकै भन्नुहोस्, दादावादी, अपराध होइन सरकार, के साह्रो भो भो, बोकाको हालखबर, लौ आयो होलसेलको माल, म फुटपाथको मान्छे जस्ता कविता मूलतः समसामयिक प्रवृत्तिका समस्यामूलक विषयलाई उभ्याइएका उत्कृष्ट कविताहरु हुन् । कवितामा आवस्यक मानिएका कल्पनाशिलता, चेतना वा विचार र परिवेश तीन पक्ष बाट नै यस कवितासंग्रहका सबै जसो कविताहरु शुसज्जित पाइन्छ ।

कृति ः आफ्नै भूगोल
विधा ः कविता
कृतिकार ः लक्ष्मिप्रसाद कोइराला,
(हाल झापा, गौरादह)
पृष्ठ ः १०२
मूल्य ः रु १६५

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments