गौरादह, ४ असोज । गौरादह स्थित शुभलक्ष्मी सहकारी संस्थाले दोब्बर नाफा आर्जन गर्न सफल भएको छ ।संस्थाको २१ औं वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष बिरेन्द्र बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले गत आर्थिक बर्षमा १ करोड ३९ लाख ४१ हजार ४ सय ४५ नाफा गरेकोमा यस आर्थिक वर्षमा २ करोड ४७ लाख ५९ हजार ३२ रूपैया नाफा गरेको जानकारी गराएका थिए । प्रस्तुत प्रतिवेदनमा यस आर्थिक बर्षमा आम्दानी तर्फ ८ करोड २८ लाख ६६ हजार ९ सय ६ र खर्च तर्फ ५ करोड ८१ लाख ७ हजार ८ सय २ रूपैया रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका सदस्य गोपी धमलाले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश कार्कीले संस्थाको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले शेयर निष्कासन, शेयर लाभांश, विनियम संशोधन, जेष्ठ सदस्य भ्रमण, सदस्य उपचार खर्च, सदस्य तथा कर्मचारी तालिम, सुत्केरी भत्ता लगायत विषय समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्य ३३ जना, शेयर सदस्यका छोराछोरीहरू मध्ये एस.ई.ई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत बिद्यालय बाट ७ जना बिद्यार्थीहरू र कर्मचारी चुडामणी डांगीलाई पुरस्कृत गरिएको थियो । संस्थाका पुर्ब अध्यक्ष नारायण घिमिरे,सल्लाहकार सुरेश बहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए। उपाध्यक्ष दिलिप भन्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव राजु घिमिरेले कार्यक्रम संचालन गरेका थिए।






