Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

झगेन्द्र खड्का
गौरादह,  १२  साउन  ।  पानीको निकासको व्यवस्था नगरी सडक संजाल विस्तार गरिंदा गाउँ वस्तीहरु डुबानको चपेटामा परेका छन् । पानीको बहाव बढी हुने स्थानमा स्थानिय तहबाट निकासको व्यवस्था नगरी अव्यवस्थित रुपमा सडक निर्माण गरिंदा नागरिकहरुले सास्ती व्योहर्नु परिरहेको छ ।

सञ्चालनमा आएका सडकहरुलाई स्थानीय सरकारले विस्तार गर्नुको साथै उच्चा बनाइदा पानी छेकिएर किसानहरुले लगाएको धानबाली नष्ट हुनुको साथै घरहरु समेत डुबानमा परेका छन् । गाउँ टोल सम्म सडक विस्तार गरि आवत जावतमा सहजता भएपनि आवश्यक ठाउँमा नाला, होमपाइप, कल्भर्ट नराख्दा डुबानको चपेटामा परिएको गौरादह ७ का शोभितमान भण्डारी बताउँछन् । बर्षातको समयमा अविरल वर्षा हुँदा पानीको बहाव बढेर धानबाली बगाएर लग्नुको साथै सडक माथि नै पानी बगेपछि स्तरीय ग्राभेल गरिएका सडक समेत क्षति ग्रस्त हुँदा चप्पल हातमा बोकेर, पेन्ट सुर्केर सडकमा हिंड्न बाध्य हुनु परेको गौरादह २ का राजेन्द्र खड्का बताउँछन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

स्थानीय तहका वडा कार्यालयहरुबाट लाखौं रुपैयाँ खर्च गरि पानीको निकास नराखी भएको विकास निर्माणको कार्यले गौरादहको डिपुचौक, धिमधिमे आसपासको क्षेत्र गौरादह–७ को भेट्वाल चौक पूर्व ग्वालडुब्बा को पश्चिम क्षेत्रमा विशेष डुबान हुने गरेको छ । खोला नभएको क्षेत्रमा आकाशबाट परेको पानी जमेर नै डुबान हुँदा समेत स्थानिय सरकार मुकदर्शक बनेको छ । बर्षाद्को समयमा सालै पिच्छे डुबान हुँदा विभिन्न समस्या झेलेर लगाएको धानबाली नष्ट हुने गरेको किसानहरुले गुनासो गरेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

दुख गरेर लगाएको बाली पानीले बगाएर लैजादा एउटै खेतमा २/३ पटक सम्म धान रोप्नु परेको गौरादह–७ का डिल्ली घिमिरे बताउँछन् । पानीको निकासको व्यवस्था गर्न पटक पटक वडा कार्यालयमा जानकारी गराउँदा समेत सम्बन्धित निकायले चासो नदेखाएको घिमिरेले गुनासो गरे । खोला नपसी घर आँगनमा पानी भरिएर पोखरी जस्तो हुनु अव्यवस्थीत घडेरी प्लटिङ अर्को कारक तत्व रहेको छ । बजार क्षेत्रमा पानीको निकास नराखी गरिएको घडेरी प्लटिङ्मा बनाईएका अधिकांश घरहरु डुबानमा परेका छन् । होचा घरहरुमा घर भित्र पानी पस्ने गरेको छ भने, अग्ला घरहरुमा पानी नपसेपनि बाहिरि भागमा घुँडासम्म पानी हुने गरेको गौरादह–३ का श्याम चिमरिया बताउँछन् ।गहिरो जग्गामा घडेरी प्लटिङ् गरिंदा सडक उच्चा बनाई कालोपत्र वा स्तरीय ग्राभेल गरिएपनि पानी बग्ने ठाउँमा नाला वा आवश्यकता अनुसार होमपाइप नराख्दा पानी जमेर पोखरी जस्तो भएको छ ।

 

गौरादह नगरपालिका भित्र रहेका सडक स्तरोन्नती गर्दा पानी बढी जम्ने स्थानमा आवश्यकता अनुसार होमपाइप वा कल्र्भट राख्न निर्देशन दिइसकेको र यसवर्ष पानी बढि जमेको निकास नभएको स्थानमा आगामी आर्थिक वर्षमा थप कल्र्भट वा होमपाइप राखेर पानीको निकास गरिने गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले बताए ।पानीको निकास दिएर नागरिकहरुको क्षति जोगाउनु स्थानिय सरकारको जिम्मेवारी रहेकाले नगरभित्र विनास हुन नदिन स्थानिय सरकारले प्रयास गरिरहेको मेयर शाहले बताए ।

स्थानिय सरकारले विकास निर्माणको काम गर्दा उपभोक्ताहरु सँग समन्वय गरि विनास हुनबाट जोगाएर विकास निर्माणको काम गर्न आवश्यक छ । त्यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments