काठमाडौँ, २४ जेठ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले गरेको विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि बैठक स्थगित भएको छ।
लोकसेवा आयोगले हालै कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनमा संविधानमै व्यवस्था गरिएको आरक्षण कोटा हटाएको भन्दै सम्बन्धित आरक्षित वर्गका सरोकारवालाहरु आन्दोलित भएका छन् ।यस विषयमा सरकारको धारणाबारे छलफल गर्न समितिले बुधबार बोलाएको बैठकमा पनि मन्त्री पण्डित अनुपस्थित भएका थिए।
लोकसेवा आयोगको विज्ञापन संविधान विपरीत भएको दाबी गर्दै यस अघि नेकपाका सांसद जनार्दन शर्माले समेत आपत्ती जनाएका थिए । तर प्रसासनमन्त्री पण्डितले लोकसेवा आयोगको विज्ञापन सच्याउन नसकिने अडान राखिरहेका छन् ।
सांसदहरुले मन्त्री पण्डितलाई समितिको बैठकमा आउन शुक्रबार बेलुकी ५ बजेसम्म मौका दिन माग गरेका छन्। सांसद्हरुको माग पछि समिति सभापति शशि श्रेष्ठले मन्त्री पण्डितलाई साँझ ५ बजेसम्म बैठकमा आउन समय दिएकी छिन्। समितिले साँझ ५ बजे फेरि बैठक बोलाएको छ । मन्त्री पण्डित बैठकमा नआए समिति आफैंले लोकसेवा आयोगलाई निर्देशन दिने जनाएको छ।
लोकसेवामा आरक्षण खोज्दै राज्यव्यवस्था समितिमा आदिवासी जनजाति, मधेशी, दलित, महिला, अपाङ्ग, पिछडिएको क्षेत्र, मुस्लिमको तर्फबाट संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले जबरजस्ती कर्मचारी भर्ना गरे ‘नयाँ द्वन्द्व’ उत्पन्न हुने बताउँदै आएका छन् ।






