काठ्माडौं, १५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रकै विपक्षीमा उभिएको आरोप लगाएका छन् ।
बुधबार १२ औँ गणतन्त्र दिवसको अवसरमा नेपाली काँग्रेसद्वारा काठमाडौँको शान्ति बाटिकामा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र र गणतन्त्रकै विपक्षमा उभिएको बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुमाथि विश्वास छैन । यसले शासन व्यवस्थामाथि नै खतरा रहेको संकेत गर्छ । उहाँ लोकतन्त्र र गणतन्त्रको विपक्षीमा उभिनुभयो ।
वर्तमान सरकारले विधेयकहरु मार्फत सञ्चार जगत र मानवअधिकार आयोगमाथि नियन्त्रण कायम गर्न लागि परेको सभापति देउवाकोआरोप छ ।
उनले भने,‘ सञ्चार र मानवअधिकारसँग सम्बद्ध क्षेत्रमाथिको नियन्त्रणको अर्थ लोकतन्त्र तथा गणतन्त्रमाथिकै नियन्त्रण हो । यस्तो कार्य काँग्रेसका लागि हिजो पनि सहय भएन आज पनि सहय हुँदैन ।’
सरकारको रबैयाविरुद्ध लडाइ लड्नुपर्ने दिन सुरु भएको उनको भनाई थियो ।






