काठमाडौं, १ जेठ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले २३ औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर आफ्नो नाममा रहेको सर्वाधिक २२ औं पटकको विश्व कीर्तिमानलाई तोडेर नयाँ विश्व कीर्तिमान राख्नुभएको छ ।
सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कीर्तिमानीआरोही कामिरिता र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेका हुन्। उहाँको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै ’यो राष्ट्रकै गौरवको कुरा’ भएको बताउनुभएको छ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ। सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९९२ देखि नै हिमाल चढ्न थाल्नु भएको थियो । २३ पटकको अरोहण मध्ये उहाँले १ पटक तिब्बतबाट चढ्नु भएको छ ।
धेरैपटक सगरमाथा आरोहण गर्नेमा अहिलेसम्म तीन नेपाली शेर्पाहरुको किर्तीमान रहेको छ ।
आप्पा शेर्पा र फुर्बा तासी शेर्पाले २१ पटक सगरमाथा चढेर किर्तिमान राखेका थिए । आप्पा शेर्पाले सन् २०११ मा र सन् २०१३ मा फुर्बा तासी शेर्पाले रेकर्ड २१ पटकको रेकर्ड राखेका थिए ।
आङरिता शेर्पाले पनि १० पटकसम्म बिनाअक्सिजन सर्वोच्च शिखर पुगेका रेकड राख्नु भएको छ । आपा र आङरिता दुवै जना कामिरिताकै गाउँ थामेका अग्रज हुन्।
काठमाडौंको बौद्धमा बस्दै आउनु भएका कामिरिताले २०६५, ०६९ र ७० सालको वसन्तकालिन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गर्नुभएको थियो । तर, ०६९ सालको दुईपटकको उनको चुचुरोसम्मको यात्रामध्ये एउटाले मात्रै सरकारी मान्यता पायो ।






