Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १५ चैत्र । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाको आर्मड सर्भिस सम्बन्धी समितिमा बुधबार ( मार्च २७ मा) इण्डो प्यासिफिक अभियानबारे छलफल भएको छ । अमेरिकालाई राष्ट्रिय सुरक्षा चुनौँती र इण्डो प्यासिफिक क्षेत्रमा अमेरिकी सैनिक गतिविधिबारेमा केन्द्रित भएको सो छलफलमा अमेरिकी रक्षा मन्त्रालयमा इण्डो प्यासिफिक मामिला सम्बन्धी सहायकमन्त्री रन्डाल जी स्रीभरले लामो मन्तव्य दिएका थिए । बाह्रखरीलई प्राप्त सो ८ पृष्ठ लामो वक्तव्यमा अहिले अमेरिकाका लागि सो क्षेत्रमा मुख्य चुनौतीका रुपमा चीन र उत्तर कोरिया भएको औंल्याइएको छ ।

रक्षा सहायक मन्त्रीले समितिमा बृफिङ गर्दा अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप डेभिड्सन र कोरियास्थित अमेरिकी सेनाको फोर्सका कमाण्डर जनरल रोबर्ट बी अब्राम्सपनि रहेको जनाइएको छ ।

उनले बैठकमा बोल्दै इण्डो प्यासिफिक क्षेत्र गएको ७० वर्ष यता शान्त रहेको र आफनै उत्थान तथा अमेरिकी अर्थतन्त्रको विकासमा यो क्षेत्र सहयोगी रहेको जनाइएको छ । तर, स्वतन्त्र र खुला इण्डो प्यासिफिक दृष्टिकोणलाई सबैले शेयर नगरेको र त्यसमा खासगरी चीनले अवलम्बन नगरेको जनाइएको छ ।

आक्रामक रुपमा अघि बढिरहेको चीनसँग यो क्षेत्रमा घर्षणको अवस्था रहेको र उसले आफ्नो पक्षमा यो क्षेत्रलाई पार्न खोज्दा नै प्रतिस्पर्धाको अवस्था उत्पन्न भएको अमेरिकी सहायक मन्त्रीले जनाएका छन् । यदि होशियारिपूर्वक व्यवस्थापन गरिएन भने शक्ति संघर्षले गर्दा शान्ति र बैभवताको उद्देश्यलाई चुनौती दिन सक्ने समेत उनले बताएका छन् ।

चीनले आफ्नो शैलीलाई अधिनायकवादी राज्य संयन्त्रको मोडलमा अगाडि बढाइरहेको उल्लेख अमेरिकी सहायक मन्त्रीले गरेका छन् । यसका लागि चीनले ‘वान बेल्ट, वान रोड इनिसिएटिभ’ को प्रयोग गरेको र त्यसले मुलुकहरुको सार्वभौमसत्तामाथि नै अप्ठेरो परेको र उनीहरुलाई चीनको स्वार्थअनुरुप प्रयोग गर्न खोजिइएको अमेरिकी सहायक मन्त्रीले जनाएका छन् ।

चीनले नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार र बौद्धिक सम्पत्तिमाथिको संरक्षणलाई आफनौ सैन्य उपलब्धी र व्यापारका लागि प्रयोग गर्न खोजेको समेत अमेरिकाले जनाएको छ । चीनको सुरक्षा फौजको संख्या बढ्दै जानुले गर्दा अमेरिकाको स्वार्थमा असर गर्न सक्ने जनाइएको छ । तर यो प्रतिस्पर्धामा हामीले द्वन्द्व खोजेको रुपमा लिन नहुने समेत जनाइएको छ ।

जापान आफ्नो साँचो मित्र रहेको प्रतिवेदनमा जनाइएको छ । उनले सो क्षेत्रका अन्य मुलुकसँग बलियो गठबन्धन बनाउने लक्ष्य रहेको समेत जनाएका छन् । अष्ट्रेलिया, जापान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड महत्वपूर्ण रहेको र सो क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको बताएका छन् । सिंगापुर, ताइवान, न्यूजिल्याण्ड लगायतका देशमा साझेदारी बढाउन कदम चालिएको र भारतसँग आफ्नो मुख्य प्रतिरक्षा साझेदारी चलिरहेको समेत उनले बताएका छन् ।

नेपालबारे यसो भनियो

यस्तै दक्षिण एशियामा श्रीलंका, नेपाल, बंगलादेश र माल्दिभ्ससँग ‘इमर्जिङ्ग पार्टनरसिप’ को पहल भएको सहायक मन्त्रीले जनाएका छन् । दक्षिण पूर्वी एशियाका राष्ट्रहरुसँग सुरक्षा सम्बन्धी कदमलाई अघि बढाउन निरन्तर रुपमा कदम चाल्ने काम भइरहेको जनाउँदै त्यसमा भियतनाम, इण्डोनेसिया र मलेशियासमेत रहेको जनाएका छन् । यस्तै प्यासिफिक आइल्यान्डमा बेलायत, फ्रान्स, क्यानडासँग मिलेर सुरक्षा परिषदको संकल्प प्रस्ताव कार्यान्वयन गराउने काम गर्ने समेत जनाएका छन् । इण्डो प्यासिफिक क्षेत्रमा उपयुक्त समयमा उपयुक्त ढंगले प्रस्तुत हुने गरी अघि बढेको समेत जनाएका छन् ।

यो क्षेत्रमा हाम्रो दृष्टिकोण भनेको ठूलो होस् वा सानो मुलुक सबै आफ्नो सार्वभौमसत्ताप्रति विश्वस्त रहन सकुन् भन्ने रहेको समेत उनले जनाएका छन् । सो अवसरमा बोल्दै सो संसदीय समितिका सभापति आडम स्मिथले चीनको चुनौती सामना गर्नका लागि इण्डो प्यासिफिक क्षेत्रमा अमेरिकाको बलियो उपस्थितिमा समेत जोड दिएका थिए ।

केही अघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा गएका बेलामा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले नेपाललाई अमेरिकाको इण्डो प्यासिफिक रणनीतिमा आउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया