काठमाडौं, १५ असोज २०८३ । नेपाली कांग्रेसको अधिवेशनका क्रममा ठाउँठाउँमा विवाद भएको छ । १५औँ महाधिवेशनको प्रतिनिधि छनोटका क्रममा केही क्षेत्रमा झडप, धकेलाधकेल र तोडफोड समेत भएको छ । केही स्थानमा विवादका कारण मतदान रोकिएको छ । कतै निर्वाचन प्रक्रिया रद्द गर्न माग गर्दै उजुरी समेत परेको छ ।
पार्टीको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गत हालसम्म स्याङ्जा–२, सिन्धुपाल्चोक–२, काभ्रे–२, दैलेख–२ र काठमाडौं–३ मा निर्वाचन प्रक्रिया तथा महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद देखिएको हो । मोरङ–६ र सुनसरी–४ मा मतदानस्थलमै झडप र तोडफोडका घटना सार्वजनिक भएको छ ।
मोरङ–६ मा झडप, कुर्सी तोडफोड
मोरङ क्षेत्र नम्बर–६ को अधिवेशनस्थलमा बुधबार (असोज १४) झडप भयो । मनोनयन दर्ताका क्रममा विवाद बढेपछि स्थिति तनावग्रस्त बनेको हो ।
त्यहाँ क्षेत्रीय सभापति पदका उमेदवार चुमनारायण तवदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भयो । घटनामा केही व्यक्ति घाइते भएका छन् ।
झडपका क्रममा करिब ५० देखि ६० कुर्सी समेत तोडफोड र निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले केन्द्रले नै प्रतिनिधि तोक्नुपर्ने बताए । घाइतेहरूको उपचार अस्पतालमा जारी रहेको उनले जानकारी दिए ।
दोलखामा एकतर्फी नेतृत्व चयन
सर्वसम्मतिका नाममा एकतर्फी रूपमा नेतृत्व चयन गरिएको भन्दै दोलखाको अधिवेशनमा उमेदवारहरूले असन्तुष्टि जनाएका छन् । निर्वाचन समितिले अन्तिम नामावली समेत सार्वजनिक गरिसकेको अवस्थामा उमेदवारहरूसँग सहमति नै नगरी ‘सर्वसम्मत’ घोषणा गरिएको भन्दै प्रत्याशीहरूले आपत्ति जनाएका हुन् ।
महाधिवेशन प्रतिनिधिका उमेदवार विनोद कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “मुख्य कुरा मैले पद पाइनँ भन्ने होइन । पद नपाएर यो लेखेको पनि होइन । मुख्य कुरा विधि, पद्धति, प्रणाली र लोकतान्त्रिक आचरण तथा मूल्य–मान्यताको हो ।”
कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले भने अधिवेशन सकिएको बताए । उनले भने, “हामीले अधिवेशन सकेका छौँ । हाम्रो जिल्लाबाट ३३ जना केन्द्रीय प्रतिनिधि हो । दुई समूह भएको छ, विवाद त भइहाल्छ ।”
सुनसरी–४ मा मतपेटिका ढलेपछि झडप
सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । कोशी गाउँपालिकास्थित लौकही सिटी हलमा मतदान भइरहेका बेला मतपत्र र मतपेटिकाका विषयमा विवाद चर्किएको हो ।
विवाद बढ्दै गएपछि धकेलाधकेल र हात हालाहाल भएको तथा मतपेटिका ढलेर मतपत्रहरू छरपस्ट भएका थिए । घटनामा केही मतदाता तथा उमेदवार सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्योसँगै केन्द्रीय निर्वाचन समितिले सुनसरी–४ का बाँकी चुनावी कार्यक्रम तत्कालका निम्ति स्थगन गर्न निर्देशन दिएको थियो । बिहीबार ९असोज १५० बिहान ९ बजेदेखि भने मतदान सुरु गरिएको थियो । यस दिन दिउँसोसम्म शान्त वातावरणमा मतदान जारी सुनसरी प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक–२ मा मतपत्रबारे विवाद
सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा प्रयोग गरिएका मतपत्रका विषयमा विवाद भएको छ । नेता वंशलाल तामाङ पक्षले मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र प्रयोग गरिएको भन्दै आपत्ति जनाएपछि अधिवेशन स्थगन गरिएको हो ।
त्यहाँ क्षेत्रीय सभापतिका निम्ति कृष्णकुमार तामाङ र पासाङ दोङ प्रतिस्पर्धामा थिए । विवादकै क्रममा वंशलालले मतपेटिकामा खुट्टा प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । विवाद समाधान भइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।
स्याङ्जा–२ मा मतदान प्रक्रिया विवादित
स्याङ्जा–२ मा पनि मतदान प्रक्रिया र व्यवस्थापनका विषयमा विवाद भएको छ । सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गर्ने वा निर्वाचन प्रक्रिया अघि बढाउने भन्ने दुई विषयमा मतभेद भएको थियो ।
यो विवाद केन्द्रीय निर्वाचन समितिसमक्ष पुगेपछि चुनावी प्रक्रिया पुनः अघि बढाउने निर्णय गरिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालालाई पत्र पठाउँदै असोज १३ गते भएको मतदान पूर्ण रूपमा सम्पन्न नभएको र त्यसक्रममा १५ प्रतिशत मतदाताले मतदान गर्न नपाएको भन्दै पुनः चुनाव गराउन निर्देशन दिएका हुन् ।
बाँकी मतदातालाई समेत जानकारी गराएर पुनः मतदानको प्रक्रिया अघि बढाउन भनिएको छ । विवादपछि यसअघि मतदान स्थगन गरिएको थियो ।
दैलेख–२ मा निर्वाचन समितिको कार्यालयमा तालाबन्दी
दैलेख–२ मा पनि महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद भएको छ । सर्वसम्मतिका नाममा प्रतिनिधि चयन गर्न खोजिएको भन्दै केही उमेदवारले आपत्ति जनाएका हुन् ।
चुनावबाट प्रतिनिधि चयन गर्नुपर्ने माग गर्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी समेत गरिएको थियो । उमेदवारहरूले आफूहरूसँग सहमति नगरी सर्वसम्मतिको प्रक्रिया अघि बढाउन खोजिएको आरोप लगाएका छन् ।
त्यहाँ बिहीबार दिउँसोसम्म ३४ प्रतिनिधि निर्विरोध चयन भएका छन् । बाँकी प्रतिनिधि चयनका निम्ति सहमतिको प्रयास जारी छ ।
काभ्रे–२ मा उमेदवारको नामावलीका विषयमा विवाद
काभ्रे–२ मा महाधिवेशन प्रतिनिधिको उमेदवारी तथा अन्तिम नामावली प्रकाशनका विषयमा विवाद भएको छ । उमेदवारी दर्ता गरिसकेपछि पनि निर्वाचन प्रक्रिया अघि नबढाइएको र सहमतिका नाममा आफूखुसी गर्न खोजिएको भन्दै उमेदवारहरूले आपत्ति जनाएका हुन् ।
उनीहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएका छन् । कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थबहादुर लामाले यसबारे आफूहरू छलफलको प्रक्रियामा रहेको बताए ।
काठमाडौं–३ मा निर्वाचन प्रक्रिया रद्द गर्न माग
काठमाडौं–३ मा क्षेत्रीय सभापति पदको निर्वाचन प्रक्रियामाथि प्रश्न उठाइएको छ । क्षेत्रीय सभापतिका उमेदवार दुर्गा ढुंगेलले जिल्ला निर्वाचन अधिकृतसमक्ष चुनावी प्रक्रिया रद्द गर्न माग गर्दै निवेदन दिएका छन् ।
उमेदवारी मनोनयन तथा सम्बन्धित प्रक्रिया पूरा गर्न पर्याप्त अवसर र सूचना नदिई एक उमेदवारलाई विजयी घोषणा गरिएको दाबी निवेदनमा गरिएको छ । निर्वाचन समितिले यसबारे निर्णय गर्न बाँकी छ ।
तर, कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले क्षेत्र नम्बर–९ को निर्वाचन मात्र बाँकी रहेको जिकिर गरे । “काठमाडौं क्षेत्र नम्बर–३ को अधिवेशन सकिएको हो । काठमाडौं क्षेत्र नम्बर–९ को मात्र बाँकी छ,” उनले भने, “काठमाडौं क्षेत्र नम्बर–९ को अधिवेशन भोलि (असोज १६) हुँदै छ ।”
वडा अधिवेशनदेखि नै केही ठाउँमा विवाद
यसअघि सम्पन्न वडा अधिवेशनमा पनि केही ठाउँमा आन्तरिक विवाद र क्रियाशील सदस्यताका विषयमा समस्या देखिएको थियो । सप्तरीका २ र ४, मोरङ–६, रौतहट–१, सर्लाहीका दुई तथा नवलपरासी–२ का केही वडामा विवाद र सदस्यतासम्बन्धी समस्याका कारण अधिवेशन प्रभावित भएको निर्वाचन समितिले जनाएको छ ।
भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा ढिलाइ भएको कांग्रेसले जनाएको छ । १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गतेका निम्ति तय गरिएको छ । केन्द्रीय प्रतिनिधि क्षेत्रीय अधिवेशनबाट छनोट तथा निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ ।






