धनकुटा, ८ असोज २०८३ । अत्यधिक भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि आइतबारसम्म राति ९ बजेदेखि बिहान ५ बजेसम्म धनकुटाका मुख्य तथा सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सवारी सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार अत्यधिक भारी वर्षाका कारण बाढी, पहिरो, सडक कटान, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।
प्रशासनका अनुसार भेडेटार–रवि–राँके सडकखण्ड, मूलघाटदेखि पाँचथर सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो। यस्तै जोखिमयुक्त अन्य भित्री सडकमा समेत रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको रेग्मीले बताए।
सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्लाका तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। विपद् आइपरे तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक तयारी गर्न प्रशासनले आग्रह गरेको छ। त्यसैगरी जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित आयोजनालाई निर्देशन दिइएको छ।
प्रशासनले तमोर र अरुण नदी आसपासका बासिन्दालाई पूर्वसूचना तथा चेतावनीलाई ध्यान दिँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच, मूलघाटस्थित विश्रान्ति वृद्धाश्रम तमोर नदी किनारमा जोखिममा रहेकाले नजिकैको विद्यालय खाली गरी वृद्धाहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको प्रशासनले जनाएको छ।
दुई दिन विद्यालय बन्द
भारी वर्षाको सम्भावनाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि धनकुटाका धनकुटा नगरपालिका र पाख्रिबास नगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। सम्बन्धित धनकुटा र पाख्रिबास नगरपालिकाले भारी वर्षा, हावाहुरी, चट्याङ तथा अन्य मौसमजन्य जोखिमलाई ध्यानमा राखी विद्यार्थीको सुरक्षाका लागि बिदा दिने निर्णय गरेका हुन्। जसका कारण नगरपालिका भरिका सामुदायिक, धार्मिक, निजी, आवासीय तथा संस्थागत सबै विद्यालयलाई दुई दिन बन्द रहने बताइएको छ।






