काठमाडौं, ५ असोज २०८३ । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन् । सोमबार मध्याह्न राहदानी विभागअगाडि बस स्टपमा गाडीमा आगो लागेको थियो । प्रहरीका अनुसार चालक आफैँले आगो लगाएको हुन सक्ने आशंका छ ।
रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको बसमा आगो लागेको हो । त्यो मूलपानी–थानकोट रुटमा चल्ने गाडी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
घाइते भएका चालक २५ वर्षीय दावा लामाको अवस्था निकै गम्भीर छ । उनलाई उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा पठाइएको थियो ।
अस्पतालका निर्देशक निदिना ताम्राकारका अनुसार बस चालकको अवस्था निकै गम्भीर छ । उनले भनिन्, “अवस्था निकै गम्भीर छ । शरीरका अधिकांश भाग जलेको छ ।” आगो लाग्दा चालक लामा बसभित्रै थिए । उनैले आगो लगाएको प्रहरीको आशंका भए पनि अनुसन्धान जारी छ ।






