काठमाडौं, १९ भदौ २०८३ । रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, भदौ १९ गते साँझ ६ः३० बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १,२९४ पुगेको छ ।
प्राधिकरणका अनुसार, बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन् ।
विपदमा परेकाहरूको खोज र उद्धारका लागि सरकारले २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका सात हजार ९३१ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सहभागी छन् ।
हालसम्म कुल १३ हजार ९५ जनाको जीवितै उद्धार गरिएको छ । शुक्रबार मात्रै त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनालाई जीवितै उद्धार गरिएको छ ।
प्राधिकरणको विवरणअनुसार अझै पाँच हजार ५३ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा रसुवाका दुई हजार १३० जना, नुवाकोटका दुई हजार ३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन् । नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकोप्टरले १२९ पटक उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याएका छन् ।
बाढीबाट घाइते भएका पाँच हजार ६६३ जनाको उपचार गरिएको छ । जसमध्ये तीन हजार २६६ जनाको नेपाली सेना, दुई हजार ८३ जनाको सशस्त्र प्रहरी र ३१४ जनाको विभिन्न अस्पतालहरूमा उपचार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जनाले आश्रय लिइरहेका छन् ।






