Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

काठमाडौं, १८ भदौ २०८३ । रसुवा बाढीका कारण प्रभावित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार, उद्धारका क्रममा नेपाली सेना टनेलको मुखबाट करिब १५ फिटभित्रसम्म रहेको भग्नावशेष हटाएर त्यहाँसम्म प्रवेश गर्न सफल भएको छ । थप अगाडिसम्म पुगेर खोज तथा उद्धार गर्ने प्रयास निरन्तर भइरहेको छ ।

दिनरात निरन्तर काम गरी टनेलभित्र जमेको पानीलाई निकास दिनसमेत सम्भव भएको मन्त्रालयले जनाएको छ ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कुनै पनि सामग्री तथा खाद्यान्नको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्थापन, सामग्री प्राप्ति तथा खर्चको अभिलेख व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ ।

त्यस्तै, खोज तथा उद्धार समितिसँग समन्वय गरी प्राधिकरणको सम्पर्कमा आएका तथा सम्पर्कमा नआएका सम्पूर्ण कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्ने निर्णय गरिएको छ ।

सम्पर्क हुन नसकेका कर्मचारी तथा कामदारका परिवारजनको पीर, मर्का तथा गुनासो सुन्ने र आवश्यक सहयोग तथा समन्वय गर्ने उद्देश्यले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् उत्पादन केन्द्रको पावर हाउस साइटसम्म जाने प्रबन्धसमेत गरिएको छ ।

गत भदौ १० गते त्रिशूली र भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि ऊर्जा मन्त्रालयले खोज तथा उद्धारसँगै विद्युत् आपूर्ति सुचारु गर्न गरिएका प्रमुख कामकारबाहीबारे जानकारी सम्प्रेषण गर्ने व्यवस्था गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया