झापा, १३ भदौ २०८३ । नेपाल प्रेस युनियन झापाको ११ औं जिल्ला अधिवेशनमा तीन पदबाहेक सबै निर्विरोध भएको छ । दमकमा भएको अधिवेशनमा अध्यक्ष, खुल्ला उपाध्यक्ष, सहसचिव पदबाहेक कार्यसमितका अन्य पदहरु निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा राजेन्द्र गौतम र अर्जुन राजवंशी प्रतिष्पर्धामा छन् । राजवंशी जिल्ला सचिव हुन् भने गौतम केही महिनाअघि केन्द्रीय सदस्य मनोनित भएका थिए । उपाध्यक्षमा इश्वर अधिकारी र बिष्णु पौडेल प्रतिस्पर्धामा छन् भने एक सहसचिव पदको लागि केशव भण्डारी, तुलसी निरौला र कौशल भण्डारीको उम्मेदवारी परेको छ ।
समावेशी उपाध्यक्ष सेसेहाङ फियाक, महिला उपाध्यक्ष शुष्मा राजवंशी, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष देबेन्द्र प्रसाईं, महिला सदस्यहरु अनुषा चुडाल, नानु गिरी, सेविका शर्मा, रन्जिता खड्का निर्विरोध निर्वाचित भएका छन् । यी पदहरुमा तोकिएको संख्यामा मात्र उम्मेदवारी परेको थियो ।
त्यसैगरी समावेशी सदस्यहरुमा रणदेव हजाम, बिष्णु श्रेष्ठ, दिपक मित्तल तथा खुल्ला सदस्यहरुमा देवीचन्द्र बास्तोला र बरतलाल राजवंशी पनि निर्विरोध भएका छन् ।
लक्ष्मीप्रसाद लुईटेल संयोजक रहेको निर्वाचन समितिले सर्वसम्मत नभएपछि बाँकी तीन पदका लागि मध्यान्ह १२ बजे मतदाता नामावली प्रकाशन गरेर मतदान दिउँसो ३:१५ देखि ५ बजेसम्म गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।
तर, निर्वाचन समितिले बीचैमा मतदान स्थगित गरेको छ । नेपाली कांग्रेसका नेताहरुको दबाबमा आजको मतदान स्थगित गरिएको बुझिएको छ ।
आफूहरुले इच्छाएको व्यक्तिको नाममा सहमति गराउन कांग्रेसको पार्टी कार्यालय बिर्तामोडमा छलफल गराउने भन्दै आइतवार दिउँसो १ बजेपछि मात्र मतदानको समय तोकिएको छ । प्रेस युनियन कांग्रेसको पेशागत संगठनसंगै श्रमजीवी पत्रकारहरुको संगठनसमेत भएकाले युनियनसंग आवद्ध पत्रकारहरुले नेताहरुलाई राजनीतिक दख्खल नदिन आग्रह गर्दै आएका छन् ।






