खोटाङ, १२ भदौ २०८३ । कुटपिटबाट खोटाङका एक शिक्षकको मृत्यु भएको छ । कुटपिटबाट केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत्यु भएको हो ।
पर्यटकीय एवं धार्मिकस्थल सालपा पोखरी क्षेत्रमा शिक्षक राईको बिहीबार राति कुटपिटबाट मृत्यु भएको खबर आएको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताउनुभयो ।
लगातार तीन दिन विद्यालय बिदा भएपछि संखुवासभा पुगेर फर्किने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिड्नुभएको थियो । जनैपूर्णिमा एवं ऋषितर्पणीको अवसरमा शुक्रबार सालपा पोखरीमा लाग्ने मेला भर्नको लागि सोही क्षेत्रमा बस्नुभएका राईको राति करिब १२ बजे कुटपिटबाट मृत्यु भएको खबर आएको प्रधानाध्यापक चन्द्रले बताउनुभयो ।
घटना भएको क्षेत्र भोजपुर जिल्ला रहेकाले प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनास्थलसम्म पैदल जानु पर्ने र टेलिफोनको नेटवर्ककलेसमेत त्यस क्षेत्रमा काम नगर्ने हुँदा सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी ज्ञानबहादुर खड्काले बताउनुभयो ।
शिक्षक राईको ज्यान जाने गरी कुटपिटमा संलग्न सुङ्देलकै केही व्यक्तिहरू रहेको बुझिएको उहाँको भनाइ छ । घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप कुरा खुल्ने डीएसपी खड्काले बताउनुभयो ।






