Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

काठमाडौं, २४ साउन २०८३ । भारतमा कुनै समय सफल कपडा व्यापारी रहेका शिवचरण रतन गुप्ताले जीवनको अन्तिम महिना हरियाणाको सोनीपतस्थित एक वृद्धाश्रममा बिताए । उनको हेरचाह गर्दै आएका वृद्धाश्रमका कर्मचारीले नै निधनपछि अन्तिम संस्कार गरे ।

भारतका विभिन्न स्थान र विदेशमा बस्ने उनका तीन छोरीमध्ये कोही पनि अन्त्येष्टिमा उपस्थित भएनन् । बरु, उनीहरूले भिडियो कलमार्फत दाहसंस्कार हेरे । पछि उनीहरूले हेरचाहकर्तासँग अन्त्येष्टिको भिडियो पठाइदिन आग्रह गरे ।

परिवारका सदस्यको उपस्थितिबिना नै एक वृद्धको अन्त्येष्टि गरिएको यो घटनाले धेरै मानिसलाई भावुक बनाएको छ । यो घटनाले वृद्धवृद्धामा बढ्दो एक्लोपन र परिवर्तन हुँदै गएको पारिवारिक सम्बन्धबारे सामाजिक सञ्जालमा व्यापक बहस सुरु गराएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

सफल जीवनको अन्त्य एक्लोपनमा
शिवचरण सधैँ एक्लै थिएनन् । उनी कुनै समय महाराष्ट्रका प्रख्यात कपडा व्यापारी थिए । आफ्नो जीवनको अधिकांश समय उनले परिवारको पालनपोषण र छोरीहरूको भविष्य निर्माणमा बिताएका थिए ।

उनले आफ्नो सम्पूर्ण बचत तीन छोरीको शिक्षामा खर्च गरेका थिए । उनीहरूलाई स्वतन्त्र करियर बनाउन सहयोग गरेका थिए ।

उनकी जेठी छोरी अनिता हाल नेपालमा बस्छिन् र शिक्षिकाका रूपमा काम गर्छिन् । उनकी माइली छोरी निशा उत्तर प्रदेशको आजमगढमा सरकारी शिक्षिका छिन् । कान्छी छोरी प्रिया मुम्बईमा बस्छिन् ।

करिब १८ महिनाअघि शिवचरण र उनकी श्रीमती मीना गुप्ता सोनीपतस्थित एक वृद्धाश्रममा सरेका थिए । मीनाको निधन भएपछि शिवचरण त्यहीँ एक्लै बस्दै आएका थिए ।

छोरीहरूको फोनको पर्खाइमा हुन्थे
वृद्धाश्रममा शिवचरण मोबाइल फोन सधैँ आफूसँगै राख्थे । छोरीहरूसँग सम्पर्कमा रहने उनीसित त्यो नै मुख्य माध्यम थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि छोरीहरूबाट फोन आउने क्रम पनि घटेको वृद्धाश्रमका प्रबन्धक आनन्द बताउँछन् ।

उनको अवस्था नाजुक भएपछि कर्मचारीले तीनै छोरीलाई सम्पर्क गरी बुवालाई भेट्न आउन आग्रह गरेका थिए । “प्रत्येकले आउन असमर्थता जनाए र फरक–फरक कारण दिए,” आनन्दले भने ।

अबेर राति शिवचरणको निधन भएपछि वृद्धाश्रमले पुनः परिवारलाई सम्पर्क गर्‍यो । छोरीहरूलाई अन्त्येष्टिका निम्ति आउन समय मिलोस् भनेर कर्मचारीले उनको शव केही समय सुरक्षित राखिदिने प्रस्ताव गरे । तर, उनीहरूले उक्त प्रस्ताव अस्वीकार गरेका वृद्धाश्रमले जनाएको छ ।

वृद्धाश्रमका कर्मचारीले गरे अन्तिम संस्कार
परिवारका कोही सदस्य उपस्थित नभएपछि शिवचरणको अन्तिम संस्कार गर्ने जिम्मेवारी उनको हेरचाह गर्दै आएका कर्मचारीको नै भयो । कर्मचारीले नै शिवचरणको अन्तिम संस्कार गरे ।

उनकी एक छोरीले अन्त्येष्टिको खर्चका निम्ति अनलाइनमार्फत पाँच हजार १०० भारु पठाइन् । सुरुमा परिवारले अस्तु संकलन गरेर सुरक्षित राखिदिन आग्रह गरेको थियो । पछि आउन नसक्ने जानकारी गराउँदै अस्तु गंगा नदीमा विसर्जन गरिदिन परिवारले वृद्धाश्रमका कर्मचारीलाई भन्यो ।

‘दाहसंस्कारको भिडियो पठाउनू’
दाहसंस्कारका क्रममा शिवचरणकी एक छोरी र हेरचाहकर्ताबीच भएको कुराकानीको भिडियो यति बेला सामाजिक सञ्जालमा ‘भाइरल’ छ । उक्त भिडियो क्लिपमा छोरीले अन्त्येष्टिको भिडियो पठाउनुअघि सबै काम सही तरिकाले सम्पन्न भयो कि भएन भनेर सोधेको सुनिन्छ ।

उनले दाहसंस्कार सकिन कति समय लाग्छ भनेर पनि सोधेकी थिइन् । जवाफमा एक हेरचाहकर्ताले अझै १० देखि १५ मिनेट लाग्ने बताएका थिए ।

यो कुराकानीले सामाजिक सञ्जालमा व्यापक ध्यान खिचेको छ । धेरैले शिवचरणको अन्तिम बिदाइको परिस्थितिप्रति दुःख व्यक्त गरेका छन् ।

एउटा परिवारभन्दा ठूलो बहस
वृद्धाश्रमका कर्मचारीका अनुसार, शिवचरणलाई चिन्ने र उनको हेरचाह गर्ने सबैका निम्ति यो घटना अत्यन्तै भावुक थियो । कर्मचारीका निम्ति शिवचरण वृद्धाश्रममा बस्ने एक वृद्ध नागरिक मात्र थिएनन्, विशेष गरी श्रीमतीको निधनपछि उनीहरूले उनको दैनिक हेरचाह गरेका थिए ।

उनको कथाले परिवारबाट टाढा बसिरहेका वृद्ध आमाबाबुको बढ्दो संख्या र बुढ्यौलीसँगै आउने भावनात्मक चुनौतीबारे फेरि बहस सुरु गराएको छ । धेरैले आधुनिक जीवनशैली, करियर र भौगोलिक दूरीले पारिवारिक सम्बन्धलाई अझ जटिल बनाउन सक्ने औँल्याएका छन् । कतिपयले भने यो घटनाले आर्थिक सुरक्षाजत्तिकै भावनात्मक सहारा पनि महत्त्वपूर्ण हुने सम्झाएको बताएका छन् ।

शिवचरणका अन्तिम दिनमा उनीसँगै रहेका हेरचाहकर्ताले उनको कथाले परिवारलाई शिक्षा र व्यावसायिक सफलतालाई मात्र नभई दया, सहानुभूति र वृद्ध आमाबाबुसँगको सम्बन्धलाई पनि महत्त्व दिन प्रेरित गर्ने आशा व्यक्त गरेका छन् ।

शिवचरण गुप्तालाई अन्तिम क्षणमा साथ दिने मानिस उनका नातेदार थिएनन् । उनीहरू तिनै हेरचाहकर्ता थिए, जो उनको परिवार बनेका थिए र अन्तिम साससम्म उनीसँगै रहे ।

 

तपाईको प्रतिक्रिया