Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

झापा, १२ साउन २०८३। झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद्यालय परिसरको भवनमा शिक्षिकाको शव भेटिएको छ । मृतक सर्लाही लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविता कुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत वैशाख देखि कविता आफ्ना श्रीमान पर्सा वीरगञ्ज महानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरको एक कोठामा बस्दै सोही विद्यालयमा पढाउँदै आएका थिए ।

विद्यालयमा साउन ५ गतेदेखि बिदा भएको र साउन ११ गते विद्यालय सञ्चालन हुँदा दुवै जना सम्पर्कविहीन रहेका थिए। उनीहरू बसेको कोठामा बाहिरबाट ताल्चा लागेको र फोन सम्पर्कसमेत हुन नसकेको अवस्थामा विद्यालयका प्रिन्सिपललाई रतन गुप्ताले सन्देश पठाउँदै श्रीमतीलाई किचन कोठामा झुण्डिएको अवस्थामा फेला पारेपछि पासो काटेर सुत्ने कोठामा ल्याउँदा उनको मृत्यु भइसकेको देखिएको र आफू डरका कारण शव छाडेर भागेको बताएका थिए।

उक्त जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक जसबहादुर लिम्बुको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा कोठाको ताला फोडी हेर्दा महिलाको शव खाटमा दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान १०ः५० बजे मृतकका दाजु झापाको केर्खा आइपुगेका छन्। घटनापछि फरार रहेका श्रीमान रतन गुप्ताको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया