काठमाडौं, २५ जेठ २०८३ । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङस्थित पैंयुटारमा शुक्रबार राति भएको घटनामा गम्भीर घाइते भएकी ४२ वर्षीया ईश्वरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार राति ९:१० बजे रड तथा चक्कु प्रहार गरी नेपाली ब्रोले श्रीमतीलाई गम्भीर घाइते बनाएका थिए । उपचारका लागि तारकेश्वर सिटी अस्पताल हुँदै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा राति ११ बजे उनको मृत्यु भयो ।
त्यसपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढायो । प्रहरी वृत्त बालाजुको हिरासतमा रहेका बेला यो प्रकरणमा अरू तीन जना पनि समातिए ।
घटनापछि प्रहरीले कुमार थापासहित थप तीन जनालाई पक्राउ गरेको छ। परिसरका एसपी भट्टराईका अनुसार नुवाकोटको तारकेश्वर गाउँपालिका–४ घर भएका ब्रोसँगै नुवाकोटकै तारकेश्वर गाउँपालिका–४ का ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजुका ४० वर्षीय पुजन थापा क्षेत्री, जुम्लाको हिमा गाउँपालिका–१ घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य पक्राउ परेका छन् । पक्राउ परेकामध्ये विक्रम नेपाली ब्रोका सहोदर भाइ हुन् भने पुजन र प्रतीक्षा साथी हुन् । पक्राउ परेकाहरू विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दम्पतीबीच लामो समयदेखि पारिवारिक विवाद चलिरहेको थियो। घरेलु हिंसा, वैवाहिक बलात्कार तथा सम्बन्धविच्छेदसम्बन्धी मुद्दासमेत अदालतमा विचाराधीन रहेको खुलेको छ।
प्रहरीका अनुसार घटनाको दिन नेपाली सेनामा कार्यरत ईश्वरी कार्यालयबाट घर फर्कने क्रममा थिइन्। बाटोमा ढुकेर बसेका कुमार थापाले योजनाबद्ध रूपमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनामा प्रयोग भएको चक्कु समेत प्रहरीले बरामद गरेको छ।
प्रहरीले घटनालाई योजनाबद्ध हत्या भएको आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ। सामाजिक सञ्जालमा सक्रिय कुमार थापा ‘नेपाली ब्रो’ नामबाट परिचित थिए। उनी पूर्व नेपाली सेना कर्मचारीसमेत रहेको प्रहरीले जनाएको छ।






