धनगढी, २ जेठ २०८३ । सेती प्रादेशिक अस्पतालमा पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिबार साँझ साढे ५ बजेतिर धनगढी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय मुकुन्द जोशीले चलाएर ल्याएको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले आगलागीबाट स्कारपियो जलेको बताए । उनका अनुसार बिरामीका लागि गाडीमा जोडिएको अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको पाइएको छ । आगलागीबाट स्कारपियो पूर्ण रूपमा जलेर नष्ट भएको उनले बताए ।
धनगढी उपमहानगरपालिकाको दमकलले सहयोगमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगले नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।





