काठमाडौं, १ मंसिर २०८२ । साउदी अरबको मदिना नजिकै सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा ४२ जना तिर्थयात्रीहरूको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।
स्थानीय मिडिया रिपोर्टहरूका अनुसार, तिर्थयात्रीहरूलाई लिएर मक्काबाट मदिना जाँदै गरेको बस डिजेल ट्यांकरसँग ठोक्किएको थियो । यो दुर्घटना मदिनाबाट करिब २५ किलोमिटर टाढा मुफ्रिहात क्षेत्रमा भारतीय समय अनुसार राति १:३० बजे भएको हो ।
खलिज टाइम्सका अनुसार बसमा सवार अधिकांश यात्री भारतको तेलङ्गाना राज्यको हैदराबादका थिए । सो तिर्थयात्रीहरूको समूहले मक्का धार्मिक कार्यक्रम पूरा गरेपछि मदिना जाँदै गरेको थियो । भारतका सांसद असदुद्दीन ओवैसीले बसमा ४३ जना सवार भएकामा प्रारम्भिक जानकारी अनुसार केवल एक जना मात्र बाँचेको बताएका छन् ।
तेलङ्गाना राज्यका मुख्यमन्त्री ए। रेवन्त रेड्डीले उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्य सचिव र डीजीपीलाई विदेश मन्त्रालय र साउदी अधिकारीहरूसँग सम्पर्क गरेर सबै जानकारीहरू संकलन गर्न निर्देशन दिएका छन् ।






