Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, २८ कार्तिक २०८२ । रूसको करेलीया क्षेत्रमा बिहीबार साँझ एक एसयू–३० रुसी लडाकु विमान तालिम उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ । स्थानीय समयअनुसार साँझ करिब ७ बजे विमान एक खाली इलाकामा खसेको थियो ।

रूसी रक्षा मन्त्रालयले दुर्घटनामा विमानका दुवै पाइलटको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनाको समयमा विमानमा कुनै हतियार वा गोला–बारुद नभएको बताइएको छ ।

हालसम्म दुर्घटनाको कारण स्पष्ट नभएको समाचारमा उल्लेख छ । प्रारम्भिक जानकारी अनुसार प्राविधिक खराबी वा पाइलटको गल्ती दुवै सम्भावनाहरूको जाँच भइरहेको बताइएको छ । रूसी अधिकारीहरूले क्र्यास साइटबाट तथ्याङ्क सङ्कलन गर्नका लागि एक विशेष आयोग गठन गरेका छन् ।

एसयू–३० रूसको दुई इन्जिन भएको बहु–भूमिका लडाकु विमान हो । यसको प्रयोग हवाई र जमिन दुवै अपरेसनहरूमा गरिन्छ । यसलाई युक्रेन युद्धको समयमा पनि ठूलो मात्रामा तैनाथ गरिएको बताइएको छ ।

यसै वर्षको जुलाईमा पनि एक एसयू–३४ तालिम मिसनको क्रममा दुर्घटनाग्रस्त भएको थियो । युक्रेनको दाबीअनुसार, फेब्रुअरी २०२२ मा युद्ध सुरु भएदेखि रूसले ४२८ सैन्य विमान गुमाइसकेको छ । यी तथ्याङ्कहरूको पुष्टि हुन सकेको छैन । यीमध्ये करिब १५ दुर्घटनाहरू एसयू–३० एसएम विमान हुन सक्ने विज्ञहरूको अनुमान छ ।

तपाईको प्रतिक्रिया