काठमाडौं, २४ कार्तिक २०८२ । उत्तरपूर्वी नाइजेरियाको अशान्त लेक चाड क्षेत्रमा जिहादी समूहहरूबीच भएको आपसी लडाइँमा करिब २०० जनाको ज्यान गएको गुप्तचर स्रोतहरू, मिलिशिया र जिहादी समूहका स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले सोमबार जनाएको छ ।
बोको हराम र यसको प्रतिद्वन्द्वी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिकाका लडाकुहरूबीच आइतबार लेक चाडको किनारमा रहेको दोगों चिकु नामक स्थानमा भीषण झडप भएको थियो ।
वैचारिक मतभेदका कारण दुवै समूहबीच इलाका कब्जा गर्ने संघर्ष जारी छ र यसले धेरै मानिसको ज्यान लिइरहेको बताइएको छ ।
बोको हरामका एक पूर्वजिहादी बाबकुरा कोलाले एएफपीलाई बताएअनुसार, इस्लामिक स्टेट वेस्ट अफ्रिकाका करिब २०० लडाकु मारिएका र उनीहरूको धेरै हतियार पनि खोसिएका छन् ।
हिंसा त्यागिसकेका ती पूर्वजिहादी हाल नाइजेरियाली सेनालाई सहयोग गर्ने जिहादीविरोधी मिलिशियाका सदस्य हुन् ।
यो लडाइँमा बोको हरामका चार लडाकु मारिएको बताइएको छ । बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका सन् २०१६ मा वैचारिक मतभेदका कारण छुट्टिएका थिए र अहिले पनि इलाका कब्जा गर्न एकअर्कासँग लडिरहेका छन् । उनीहरूको अधिकांश भिडन्त लेक चाड क्षेत्रमा नै हुने गरेको छ ।






