काठमाडौं, १५ असार २०८२ । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।
सभामुख घिमिरेले भने,‘संघीय निजामती सेवा विधेयक, २०८२ आज प्रतिनिधि सभाबाट पारित भएको छ। संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रूपमा लिएको छु।’
विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए। यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए।






