विराटनगर, १९ फागुन २०८१ । विराटनगरमा १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत मोरङका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले सबै प्रतिवादीलार्य पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आदेशलगत्तै अभियुक्तहरुलाई आइतबार जिल्ला कारागार मोरङ चलान गरिएको जानकारी दिए। तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको बुढाथोकीको भनाइ छ।
चाँदनीको हत्यामा आफ्नै अभिभावक र मावली परिवारका सदस्यको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो। प्रहरीका अनुसार उनको हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेका हुन्। हत्यामा चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा ९सरयुगकी पत्नी० ५४ वर्षीया बतासी मण्डल, माइजू जानकी र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादवको मिलेमतो रहेको अनुसन्धानबाट यकिन भयो।
प्रहरीले अनुसन्धान सकेर मिलिस ९अनुसन्धान प्रतिवेदन० बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै ६ जनालाई प्रतिवादी बनाएर गत मंगलबार जिल्ला अदालत मोरङमा ज्यान सम्बन्धी कसुरअन्तर्गतको मुद्दा दायर गरेको थियो। अदालतमा बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएर आइतबार अभियुक्तलाई थुनामा पठाउने आदेश आएको सूचना अधिकारी बुढाथोकीले बताए।
उनका अनुसार प्रतिवादीमध्ये आमा र मामाविरुद्ध कर्तव्य ज्यान तथा अरु ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता भएको छ। कसुर ठहर भयो भने मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्र गत माघ ११ गते दिउँसो घाँटी थिचेर चाँदनीको हत्या गरिएको अुनसन्धानबाट यकिन भएको छ। हत्या गरेकै राति मामाघरनजिकै खाल्डो खनेर शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। खाल्डोभित्रै सडेर दुर्गन्धित भइसकेको कपडासहितको शव प्रहरीले माघ १८ गते उत्खनन गरी घटनाको थप अनुसन्धान अघि बढाएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले आमा र मामाले घाँटी थिचेर चाँदनीको हत्या गरेको बताए। अरुले शव व्यवस्थापनमा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेको उनको भनाइ छ। चिमरियाका अनुसार ‘पोस्टमार्टम रिपोर्ट’मा पनि घाँटीमा दबाब परेर मृत्यु भएको उल्लेख छ।
चाँदनीको हत्या मामाघरकै एउटा कोठाभित्र भएको उनले बताए। भरतको छपरा जिल्ला घर भएकी चाँदनी करिब समान उमेर भएका भारतीय बालकसँग प्रेम सम्बन्धमा थिइन्। केही समयअघि भागेर बिहे गरेका उनीहरुलाई छुटाएपछि बाबुआमाले पुसको पहिलो साता चाँदनीलाई विराटनगरस्थित मावली घरमा लिएर आए। विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए।
आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन्। छोरीको हत्या गरेपछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनले पनि माइती घर छाडेको प्रहरीले जनाएको छ। प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिएको एसपी चिमरियाले बताए।
उनका अनुसार मावली घरमा बस्दा चाँदनीले प्रेमीसँग अरूकै मोबाइल प्रयोग गरेर बोल्ने गरेको खुल्यो। छुटाएर नेपाल ल्याए पनि दुवै जनाबीच सामाजिक सञ्जाल र फोनमार्फत नियमित कुराकानी भइरहेको परिवारमा थाहा भयो। सम्झाइबुझाइ गर्ने क्रममा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने अडान लिइन्। ‘मावलीबाट समेत भागेपछि बाटोबाट फर्काएर ल्याएको समेत देखिन्छ,’ उनी भन्छन्, ‘त्यसपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लाग्यो।’
मामाघर आएकी चाँदनी एकाएक बेपत्ता भएको हल्ला मावली गाउँमा चल्यो। त्यो सूचना प्रहरीसम्म पुग्यो। प्रहरीले मामाघरदेखि १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डोभित्र शव भेटेको हो। सुरुमा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको प्रहरीलाई बताएका थिए। प्रहरीले भारतमा रहेका बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए। कुरा बाझिएपछि गम्भीर ढंगले अनुसन्धान अघि बढाउँदै खोजतलास गर्दा शव भेटिएको एसपी चिमरियाले बताए।