Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

धनकुटा, २२ पुस । पहाडबाट बसाइँ सरेर तराई झर्ने वा सहरतिर पस्ने आम समस्या छ । भनिन्छ, पहाड रित्तिँदैछन् र उजाड बन्दैछन् । तर, धनकुटाको चौबीसे गाउँपालिकाअन्तरगत पर्ने मौनाबुधक र बोधे गाउँमा यो कुरा लागू हुँदैन ।

सुन्तला खेतीका लागि चर्चित यस ठाउँका बासिन्दाहरु तराई मधेसतिर बसाइँ झर्ने क्रम रोकिन थालेको छ । अब बैदेशिक रोजगारीमा जाने क्रम पनि विस्तारै घट्ने स्थानीयवासीको विश्वास छ ।

मौनाबुधुकबाट मानिसहरु बसाइँ हिँड्नुको साटो यस गाउँमा बसाइँ आउनेहरु क्रम बढ्न थालेको छ । पाँचथरसँग जोडिएको कुरुले तेनुपाका मानिसहरु यतातिर बसाइँ आउने क्रम बढेको छ । धरानबाट सुन्तलाको बोटमा सेल्फी खिच्न युवायुवतीहरु आउन थालेका छन् । सुन्तलाले आर्थिकसँगै पर्यटकीय सौन्दर्य बढाएको छ ।

मिहेनत गर्‍यो भने पहाडमा सुन फल्न सक्दोरहेछ भन्ने दृष्टान्त बन्न थालेको छ धनकुटाको चौबीसे गाउँ ।

यहाँ पुसको जाडो महिना बेलुकीपख लगभग जिरोदेखि ५ डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ । चौबीसे गाउँपालिका वडा नम्बर ७, मौनाबुधुक र वडा नम्बर ५ स्थिति बोधे गाउँमा मङ्सिरदेखि माघसम्म लटरम्म सुन्तला झुलिरहेका भेटिन्छन् ।

हिउँदको समयमा कोही सुन्तला गाडीमा लोड गर्न तल्लीन भेटिन्छन् त कोही सुन्तला टिपेर गनिरहेका भेटिन्छन् ।

सेल्फी खिच्नेदेखि लाखौं कमाउनेसम्म

मौनाबुधुकका खड्गकुमार चेम्जोङ धरानबाट केटाकेटीहरु घुम्न आउने र सुन्तला बगैंचा पसेर फोटो खिचाउने गरेको सुनाउँछन् । उनी भन्छन्, शहर बजारमा बस्नेहरुलाई सुन्तला खानुभन्दा पनि सुन्तला बगैंचा घुम्नु रमाइलो लाग्दोरहेछ ।’

सुन्तला खेतीमा प्रारम्भदेखि नै लागेका नमूना कृषक सुरेन्द्र चेम्जोङ भन्छन्, सुन्तलाको फल र बिरुवा गरेर लगभग २० लाखसम्म बार्षिक आम्दानी गरिरहेको छु ।
सुरेन्द्रले मालबासे भन्ने ठाउँमा लगभग एक हजार बोट सुन्तला रोपेका छन् । सँगै रहेको कोइरालागाउँमा ४ सय बोट हुने धेरै किसानहरु छन् ।

मौनाबुधुकको गिद्धे, लोफादिन, कोइरालागाउँ, गैरीगाउँ, ठूलढुंगा, सिमडाडा, पाँचघरे, पोस्तके, माथिल्लो गाउँ र आरुबोटेमा सुन्तला खेती फस्टाएको छ ।
त्यसैगरी बोधे गाउँको होम्देन टोल, डाँडाटोल, तल्लोटोल, रनदलगाउँ र हमेलामा सुन्तला बगानहरु प्रशस्त भेटिन्छन् ।

अहिले सुन्तलाले मात्र लगभग एक लाखदेखि दुई(चार लाखसम्मको आम्दानी गर्ने घरहरु मौनाबुधुकमा धेरै नै भेटिन्छन् । गत साल १०० देखि १२० रुपैयाँ प्रतिकिलो धरान तथा इटहरी लगेर सुन्तला बेचेका किसानहरुले यसपल्ट त्यस्तो दाम नपाए पनि राम्रै आम्दानी भएको सुनाए ।

गतसाल सुन्तलाबाट मौनाबुधुकमा साढे दुई करोड तथा बोधेमा ५० लाख बराबरको आम्दानी भएको स्थानीय बताउँछन् । यो बर्ष पनि सोही बराबरको आम्दानी हुन सक्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।

गाउँमा सुन्तलाका नयाँ बोटहरु बढ्ने क्रममा रहेकाले अबको १० बर्षसम्म आम्दानी पनि सोही अनुसार निरन्तर बढ्ने सम्भावना छ । यसरी सुन्तला खेती राम्रो हुँदै जाने हो भने यहाँका किसानहरुले बैदेशिक नोकरीका लागि खाडी मुलुक गइरहनुपर्ने आवश्यकता कम हुँदै जाने देखिन्छ ।

चौबीसे गाउँपालिकाको वडा नम्बर ६ र ८ मा आलु, काउली, बन्दा, रायो र मुला लगायतका मौसमी र बेमौसमी तरकारी खेती हुँदै आएको छ । तर, अहिलेको सिजन यहाँको मुख्य गरी सुन्तलाको नै हो ।

सुन्तला बगैंचाको आधुनिकीकरण

यस गाउँमा परम्परागतरुपमा सुन्तलाका बोटहरु रोपिन्थे । यसैवीच सुन्तलाको बगैंचा व्यवस्थापनमा नयाँ प्रयोग थाले जेबी राईले । उनलाई प्राविधिक सहयोग गर्नका लागि तत्कालीन जिल्ला कृषि कार्यालयका प्राविधिक भगवान पोखरेल लागि परे । प्रतिफलस्वरूप यहाँका सुन्तला कृषकहरुले सुन्तला बगैंचा व्यवस्थापनसम्बन्धी ज्ञान पाए । यसबाट सुन्तला बगैंचा व्यवस्थित हुन शुरु भयो ।

तालिम सँगसँगै विभिन्न कृषि समूहहरु गठन भए । सोही कृषि समुहमा रहेर किसानहरुले सुन्तला खेतीका बारेमा ज्ञान लिन र सो ज्ञानको प्रयोग गर्न सक्ने भए । सुन्तला कृषिको प्रगतिका बारेमा बुधुक माविका पूर्वप्रधानाध्यापक एवं सुन्तला कृषक कृष्णगोविन्द चेम्जोङ भन्छन्, ‘त्यसैको प्रभावस्वरुप अहिले निकै राम्रा सुन्तला बगैंचाहरु देख्न सकिन्छ ।’

अर्कोतर्फ केही स(साना सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रमहरुको सहयोगले व्यवस्थित बजारीकरण गर्ने उपाय तथा औजार उपलब्ध हुँदा सुन्तलाका दाना ग्रेडिंग गरेर बजार पुर्‍याउने र सयकडाको हिसाबको साटो अब केजीको दामले खरिद बिक्री गर्ने काम शुरु भयो । त्यससँगै सुन्तला किसानहरु आफैं मिलेर स(साना पिकअपमा लोड गरेर आफैं धरान झार्न थालियो । यसो गर्दा कृषकहरुले बिचौलियालाई सस्तो मूल्यमा सुन्तला बेच्न आवश्यकतै परेन । आजभोलि विशेष गरेर मौनाबुधुक र बोधे गाउँमा सुन्तलाको बजार वृद्धिसँगै सुन्तला खेतीको दायरा पनि बढेको छ । प्रायः खोलाका फाँटहरु जनशक्तिको अभावमा धमाधम बाझिँदा सुन्तला बगानहरु बार्षिक रुपमा बढ्न थालेका छन् ।

यसैको फलस्वरूप हुन सक्छ, अहिले बोधे र बुधुकमा जग्गा किन्न पाइँदैन । यहाँ बसाइँ सराई पनि एकदम न्यून भएको छ । औसतमा हरेक घरजग्गामा प्रतिघर १०० वटा सुन्तलाका बोटहरु लटरम्म देखिन्छन् । केही पखेराबारीमा समेत सम्याएर सुन्तला खेती लगाइरहेको भेटिन्छ ।

सुन्तलाको साहित्यः ढाकरदेखि पीकअपसम्म !

गीतकार भुपाल राईले आफ्नो गीतमा वर्णन गरेजस्तो यहाँको सुन्तलाको भारी सुनकै भाउमा त गएन होला, तर बुटजुत्ता बेगरको नाङ्गो खुट्टाले धेरैपटक ढाकर र डोकोमा तोक्माको आडमा सुन्तला बोकेर धरान(धनकुटा गरेको चाहिँ पक्कै हो ।

लगभग ०४० सालतिरको सम्झना गर्दा सुन्तला टिपेर ढाकर वा डोकोमा स्याउला र बाँसको खवटा मिलाएर भारी लगाउथे अनि भालेको डाकमा धरानतिर हिँड्थे । मानिसहरु सुन्तलाको भारी बोकेर भेडेटारसम्म ५र६ घण्टासम्म पैदल यात्रा तय गर्थे सुन्तलाको भारी बोकेर मौनाबुधुक र बोधेबाट टुक्रे, ध्वजे हुँदै शिकरबासको बाटो भएर धरानको अमरहाटमा आएर बास बस्थे ।

अनि बिहानै धरानको पुरानो बजारमा सुन्तलाको भारी बेचेर नुन, चिनी, तेल, मट्टीतेल, चामल लगायतका आवश्यक सामानहरु किन्थे । र सोही बाटो उकालो फर्कन्थे । त्यतिखेर अमरहाटको एकराते बासमा नाचेको धाननाच र दोहोरीले धेरैको घरजम बसेको छ ।

बिस्तारै भेडेटारबाट कच्चीसडक सञ्जालले डाँडाबजार हुँदै राजारानी र मौनाबुधुक गाउँलाई छोयो । त्यसपछि गाडीसँगै बजारका क्रेताहरु सुन्तलाका बोटसम्म आइपुग्न थाले । बिचौलियाहरुले कृषिबजार सम्म बगान नै किनेर लैजान थाले । लगभग १५र२० वर्षसम्म सुन्तलाको बजार यसरी नै चल्यो ।

त्यसपछि बसको हुटमा टनाटन सुन्तला राखेर धरानको कृषिबजारसम्म ओसार्न थालियो । सुन्तलाको ढुवानीको निरन्तरता सँगसँगै केही वर्षअघि गाडीवालबीच विवाद भयो । ट्रक व्यवसायीहरुले बस व्यवसायीसँग सुन्तला ढुवानी गर्ने काम ट्रक, ट्रिपर र पिकअपहरुको मात्र हो भन्ने विवाद गरे ।

अन्ततः छलफलबाट ट्रक र पिकअपले मात्रै सुन्तला बोक्न पाउने सहमति भयो । बसले सुन्तला बोक्न नपाउने नियम लागू भयो । पिकअप व्यवसायीहरुले उत्साहित भई व्यवसाय शुरु गरे । सानो गाडी बारी छेऊसम्म पनि सहजै जाने भएकाले यो गाडी धरानसम्म सुन्तला ओसार्ने उपयुक्त विकल्प बन्यो ।

चौबीसे गाउँपालिका त्यही ठाउँ हो, जहाँ भेडेटार(रवि(राँके सडक कालोपत्रे हुँदैछ । यो सडक कालोपत्रे भएपछि मौनाबुधकको सुन्तलाको बजार थप सहज हुने निश्चित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामबाट शुक्रबार मात्रै यस सडकको कालोपत्रे शिलान्यास गरेका छन् ।

तपाईको प्रतिक्रिया