Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

काठमाडौं, ३० साउन २०८१ । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ। यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो।

निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोंगबुबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो। ‘यसरी लिइएको नमूना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। नमूना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो। प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटियो। प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ। यो शून्य हुनुपर्छ,’ महानगरले विज्ञप्ति जारी गर्दै भनेको छ।

खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ। पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो। कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो।

 

तपाईको प्रतिक्रिया