Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौं, २२ साउन २०८१ । नेप्से परिसूचक १४५.०५ अंकले घटेर बन्द भएको छ। सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा अडिएको छ।

यसदिन ३२२ स्क्रिप्सको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले ओरालो लागेको हो।

आठवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स,गोर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रोपावर,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट,शुभम पावर,हाथवे र ओरेन्टल होटल्सको सेयर १० प्रतिशतले घटेको हो।

कारोबारमा आएका ८ स्टक्सको मूल्य बढ्दा २३३ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ८.२७ प्रतिशतले घट्यो।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनसहितको सरकार बनेपछि सेयर बजारमा उछाल आएको थियो। सरकार गठनको पहिलो दिन ५६८८ अंकले बढेको नेप्से दोस्रो दिन ५९.८७ अंकले बढेको थियो। नयाँ सरकार गठनपछिका दुई दिनमा नेप्से ११७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको थियो। त्यसयता नेप्से परिसूचक लगातार बढेको थियो।

सेयर बजारमा रौनकता देखिएसँगै लगानीकर्ताहरू हौसिदा सेयर बजार बढेको विश्लेषकहरू बताउँदै आएका छन्। तर,सेयर बजार दिनप्रतिदिन अस्वभाविक रुपमा बढेको र यसको निगरानी बढाउनुपर्ने कतिपय लगानीकर्ताहरू नै बताउँछन्।

यो विषयले संसद्मा समेत प्रवेश पाएको छ। सोमबार नेपाली कांग्रेस सांसद तथा पूर्वअर्थमन्त्री डा।प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका थिए। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताए । उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिएका थिए।

कमजोर कम्पनीको सेयर ह्वात्तै बढ्दा चलखेल भएको हुनसक्ने आशंका व्यक्त गरेका थिए। प्रतिनिधिसभाका अर्का सांसद अमरेश कुमार सिंहले पनि संसदमा नामै किटेर कम्पनीको सेयर अस्वभाविक रुपमा बढेको भन्दै निगरानी गर्न सरकारसँग माग गरेका थिए।

 

तपाईको प्रतिक्रिया