Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

काठमाडौँ, ६ वैशाख २०८१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलका आबद्ध शिक्षकहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्दै शिक्षकमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गरेर कारबाही गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेकी छन् । मन्त्रालयले छानबिन गर्नुपर्ने शिक्षकहरूको विवरणसहित केन्द्रलाई परिपत्र गरेको हो ।

मन्त्रालयको परिपत्रको आधारमा केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई छानबिनका लागि पठाउनेछ । इकाईले आवश्यक अनुसन्धान गरेर दलको सदस्य पाइएको खण्डमा प्रदेशस्थित शिक्षा निर्देशनालयले कारबाही गर्नेछ ।

नेपाल शिक्षक महासङ्घका अनुसार देशभर महासङ्घमा आबद्ध र सम्बद्ध गरी १५ वटा संस्थाहरू छन् । तीमध्ये अधिकांश राजनीतिक दलनिकटका संस्थाहरू हुन् ।
शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा ‘शिक्षक वा कर्मचारी राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने’ व्यवस्था छ । त्यस्तै शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १३८ को उपनियम (१) मा ‘त्यस्ता शिक्षकहरूलाई नोकरीबाट हटाइनेछ’ भनी उल्लेख छ ।

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १४३ को उपनियम (१) को खण्ड (घ) अनुसार कारबाही गर्ने अधिकार प्रदेश सरकारको प्रदेश शिक्षा विकास निर्देशनालयलाई दिइएको छ ।

सोही कानुनी प्रावधानमा रहेर दलका शिक्षकलाई कारबाहीको प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्रीको सचिवालय सदस्य हरिसप्रसाद भट्टले दलमा आबद्ध शिक्षकलाई पदबाट हटाउने मात्रै व्यवस्था रहेको बताए । सोही आधारमा त्यस्ता शिक्षकहरूको पहिचान गर्दै कारबाही प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

कक्षा १२ सम्मको अध्यापन गराउने देशभर चार लाख २० हजार शिक्षक छन् । ती मध्ये अधिकांश विभिन्न राजनीतिक दलका शिक्षक संगठनहरूमा आबद्ध छन् ।

नेपाल शिक्षक महासङ्घका अनुसार देशभर महासङ्घमा आबद्ध र सम्बद्ध गरी १५ वटा संस्थाहरू छन् । तीमध्ये अधिकांश राजनीतिक दलनिकटका संस्थाहरू हुन् ।

हाल नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघ, नेकपा एमाले एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संघ लगायतका शिक्षक संगठनहरू क्रियाशील छन् ।

नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी छन्, त्यस्तै राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संघको अध्यक्षमा शङ्कर अधिकारी छन् ।

 

तपाईको प्रतिक्रिया