Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौँ, ५ वैशाख २०८१ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। ४ खेलमा ४ जितसँगै समूह चरणमा अपराजित रहेको नेपाल आजको खेलअघि नै सेमिफाइनलमा पुगिसकेको थियो।

ओमानको अल अमेरात खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट ८ ओभरमा झारिएको थियो।

पहिले ब्याटिङ गरेको साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

सो लक्ष्य नेपालले ७ ओभर २ बलमा नै ४ विकेटमात्र गुमाएर पूरा गर्दै समूह चरणका सबै खेलमा अपराजित रह्यो।

नेपालका लागि गुलशन झाले अविजित ३२ रन बनाए। उनले १९ बल खेल्ने क्रममा २ छक्का र २ चौका प्रहार गरे। साथै दीपेन्द्रसिंह ऐरीले १७ रन र कप्तान रोहित पौडेलले अविजित रहँदै १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

साउदी अरेबियाका लागि इस्तियाक अहमदले २ विकेट लिए भने उस्मान नजीव र वाजी उल हसनले १र१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो।

उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। उनले १६ बल खेल्ने क्रममा ३ छक्का र ३ चौका प्रहार गरे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसी र अभिनाश बोहोराले २/२ विकेट लिए भने प्रतिश जिसी र ललित राजवंशीले १/१ विकेट लिए।

पहिलो खेल: मलेशियाविरुद्ध ५ विकेटको जित

चैत ३० गते (अप्रिल १२) मा भएको पहिलो खेलमा नेपालले मलेशियालाई​ ५ विकेटले पराजित गर्‍यो।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेशियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाउँदै जितका लागि दिएको १४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेर खेल जित्यो।

ओपनर कुशल भुर्तेल कुल स्कोर ७ ओभर ५ बलमा ४९ रन हुँदा पवनदीप सिंहको बलमा एलबीडब्ल्यू भए। उनले २४ बल खेलेर ३ चौकाको मद्दतबाट २४ रन बनाएका थिए।

अर्का ओपनर आसिफ शेख १२औँ ओभरमा मलेशियाली कप्तान विरनदीप सिंहको बलमा विकेटकिपर नज्मस सकिबबाट स्टम्प भएका थिए। उनले ३५ बल खेलेर ३२ बनाउँदा ४ चौका प्रहार गरे। उनी आउट हुँदा नेपालको कुल स्कोर ६४ रन थियो।

यसपछि कुशल मल्ल ७ रन बनाएर आउट भएका थिए। महमद वफिकको बलमा क्याच आउट हुनुअघि उनले ६ बल खेलेर १ चौकाको सहायताले ७ रन बनाएका थिए।

कुशल मल्ल आउट भएपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरी १५ रन बनाएर विरनदिप सिंहको बलमा क्याच आउट भएका थिए। उनले यस क्रममा ९ बलको सामना गरि १ छक्का र १ चौका प्रहार गरेका थिए।

कप्तान रोहित पौडेलले २६ बलमा १ छक्का र १ चौका हान्दै ३२ रन बनाएका थिए। १७औँ ओभरमा नेपालको कुल स्कोर १०६ रन रहेको वेला उनलाई मलेशियाली कप्तान विरनदिप सिंहले महमद मुनियान्डीबाट क्याच आउट गराएका थिए।

गुलशन झाले अविजित रहँदै ७ बलमा २ छक्का र १ चौका हान्दै १९ रनको पारी खेले भने सन्दिप जोरा ९ बलमा १२ रन बनाउँदै अविजित रहेका थिए।

मलेशियाका लागि कप्तान विरनदिप सिंहले ३ विकेट‚ पवनदीप र महमद वकिफले १र१ विकेट लिएका थिए। मलेशियाले अतिरिक्त २ रन दियो।

खेलमा पहिले ब्याटिङ गरेको ​मलेशियाका ओपनर महमद आमिरले दिपेन्द्रसिंह ऐरीको बलमा कट एन्ड बोल्ड हुनुअघि १८ बलको सामना गरेर ३ चौकाको सहायताले १६ रन बनाएका थिए।

उक्त खेलमा मलेशियाका लागि कप्तान वीरनदीप सिंहले कप्तानी पारी खेल्दै अविजित रहेर टोलीका लागि सर्वाधिक ७२ रन बनाए। उनले यसका लागि ५७ बल खेलेर ४ छक्का र ४ चौका प्रहार गरे।

शार्विन मुनियान्डीले ३३ बल खेलेर २ छक्का र ३ चौका प्रहार गर्दै ४१ रन बनाए। अविनाश बोहराले १७औँ ओभरमा उनलाई बोल्ड गर्दा बल्ल मलेशियाको दोस्रो विकेट खसेको थियो।

पहिलो छैटौँ ओभरमा कुल ३५ को स्कोरमा मलेशियाको पहिलो विकेट खसालेको नेपालले १६औँ ओभरसम्म दोस्रो विकेट लिन सकेन। नेपालको बलिङ र फिल्डिङ केही फितलो देखिएको थियो।

सैय्यद अजिजका रुपमा मलेशियाको तेस्रो विकेट खस्यो। १८औँ ओभरमा १२६ को कुल स्कोरमा मलेशियाको तेस्रो विकेट खस्यो। ७ बलमा १ चौका हान्दै ६ रन बनाएका अजिजलाई दिपेन्द्रसिंह ऐरीको बलमा कुशल मल्लले क्याच आउट गरे।

नज्मस सकिबले ५ बलमा अविजित ३ रन बनाए। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट र अविनाश बोहराले १ विकेट लिए। नेपालले ५ अतिरिक्त रन दियो।

दोस्रो खेल : दिपेन्द्रको कीर्तिमानी छक्का

नयाँ वर्ष अर्थात २०८१ वैशाख १ गते (अप्रिल १३) नेपालले खेलेको दोस्रो खेल पनि जित्न सफल भयो। उक्त खेलमा नेपालले कतारलाई ३२ रनले हराएको थियो। नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएको थियो।

कतारका लागि महमद तनवीरले ६३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। नेपालका लागि ललित राजवंशी, गुल्शन झा र दिपेन्द्रसिंह ऐरीले २र२ विकेट लिएका थिए भने कुशल मल्ल र अभिनाश बोहोराले १र१ विकेट लिए।

दिपेन्द्रसिंह ऐरी एकै ओभरमा ६ छक्का हान्दै कीर्तिमानी खेलाडी बने। उनी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेटर बने भने टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा तेस्रो खेलाडी बने।

दिपेन्द्रले २०औँ ओभरका ६ वटै बलमा ६ छक्का प्रहार गर्दै २१ बलमा ६४ रन बनाए। आसिफ शेखले ५२ रन र कुशल मल्लले ३५ रनको योगदान गरे।

ओमानका हिमान्सु राथोड र मुसवार साहले ३/३ विकेट लिए।

तेस्रो खेल : हङकङमाथि रवाफिलो जित

वैशाख ३ गते (अप्रिल १५) नेपालले तेस्रो खेलमा ३४ बल खेल्न बाँकी रहँदै ८ विकेटले हङकङलाई पराजित गरेको थियो।

हङकङले जितका लागि दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेटमात्र गुमाएर पूरा गर्दै एक खेल खेल्न बाँकी रहँदै ३ खेलबाट ६ अंक जोडेर सेमिफाइनलमा पुगेको थियो।

नेपाललाई जितका लागि २ रन चाहिएको अवस्थामा कप्तान रोहित पौडेलले विजयी चौका प्रहार गरेका थिए। उनले अविजित रहँदै २० बलमा २५ रन बनाउने क्रममा ३ चौका प्रहार गरेका थिए। अर्को छेउमा अविजित रहेका सन्दिप जोराले १७ बलमा १९ रन बनाए। उनले १ छक्का र १ चौका प्रहार गरेका थिए।

यसअघि ३२ रन बनाएर ओपनर ब्याटर कुशल भुर्तेल छैटौँ ओभरमा आउट भएका थिए। उनी आउट भएलगत्तै अर्को ओभरमा ४० रन बनाएर अर्का ओपनर आसिफ शेख पनि आउट भएका थिए।

नेपालको कुल स्कोर ५ ओभर ३ बलमा ७० रन हुँदा कुशल भुर्तेल आउट भएका थिए। उनले आफ्नो पालीमा १९ बल खेलेर २ छक्का र ३ चौकाको मद्दतले ३२ रन बनाएका थिए।

आसिफले १८ बल खेलेर ३ छक्का र ३ चौका प्रहार गरे। उनी सातौँ ओभरको अन्तिम बलमा आउट हुँदा नेपालको कुल स्कोर २ विकेटमा ७६ रन थियो।

हङकङका लागि एहशान खान र यासिम मुर्तजाले १र१ विकेट लिएका थिए।

उक्त खेलमा ओमानको अल अमिरात मैदानमा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङमा तानिएको हङकङ १७ ओभर ५ बलमा अलआउट हुँदै ११४ रनमै समेटियो।

हङकङका लागि अन्श्या रथले सर्वाधिक ३४ तथा जिशान अलीले १४ रन जोडे पनि अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

औ बलिङतर्फ अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए। दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले २र२ विकेट लिँदा करण केसीले एक विकेट हात पारेका थिए।

सन् २०२५ को एशिया कपमा पुग्ला नेपाल?

समूह चरणका चारै खेलमा अपराजित रहेको नेपालले सन् २०२५ मा हुने एशिया कपमा पुग्नका लागि अब दुई वटा खेल बाँकी छन्‚ जुन अब हुने सेमिफाइनल र फाइनल हुन्।

​सन् २०२५ को एशिया कपमा सोझो प्रवेशका लागि एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन नेपालले ती दुवै खेल जित्नैपर्छ अर्थात् यो प्रतियोगिताको च्याम्पियन बन्नै पर्छ।

नेपालले शुक्रवार समूह बी को उप(विजेतासँग सेमिफाइनल खेल्नेछ। समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

समूह बी मा भने ओमानले ३ खेलमा तीनै जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ। आज कुवेतलाई हराउन सके ओमान समूह विजेता हुँदै सेमिफाइनलमा हङकङसँग खेल्नेछ।

आजै भइरहेको यूएई र कम्बोडियाबीच भइरहेको खेल यूएईले जिते समूह उपविजेता भन्दै नेपालसँग खेल पक्का गर्नेछ। कम्बोडियाले खेल जितेमा रनरेटको आधारमा यूएई र कुवेतमध्ये एउटा सेमिफाइनलमा पुग्नेछ।

१० राष्ट्र सहभागी यो प्रतियोगिता यस पटक टी-२० ढाँचामा भइरहेको छ। यसअघिको प्रतियोगिता भने एकदिवसीय ढाँचामा खेलाइएको थियो। प्रतियोगिताको विजेताले टी-२० एशिया कप र शीर्ष ३ टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्न पाउनेछन्

तपाईको प्रतिक्रिया