Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

जेबि खड्का
गौरादह, ४ फागुन २०८० । गौरादह नगरपालिका वडा नं.१ ले चालू आर्थिक वर्ष २०८०/०८१ मा दिर्घकालिन र आर्थिक महत्त्वका प्राथमिकतामा राखेका योजनाहरु ४३ वटा मध्ये ६ महिनामा १२ वटा सम्पन्न भएको जनाएको छ।

गौरादह नगरपालिका वडा नं.१ को सभाहलमा अर्धवार्षिक प्रगति विवरण तथा समीक्षा गोष्ठी कार्यक्रमलाई सम्वोधन गर्दै वडाध्यक्ष नगेन्द्र भण्डारीले चालू आर्थिक बर्षमा वडाले छनौट गरेका योजनाहरु ६ महिनामा सम्पन्न भएका र सम्पन्न हुन बाँकी योजनाहरुको बारेमा जानकारी गराएका थिए। वडाध्यक्ष भण्डारीले वडाबाट छनौट भएका योजनाहरु मध्ये १२ वटा सम्पन्न भएपनि २१ वटा योजना संचालन भइरहेको र १० वटा सम्झौता हुन बाँकी रहेको जानकारी गराएका थिए। वडा भित्र बिकासका क्रममा केही योजनाहरु संघीय सरकार,प्रदेश सरकार, नगरस्तरीय योजना र वडा स्तरीय योजनाबाट काम भइरहेको जानकारी गराएका थिए।

आर्थिक बर्ष २०८०/०८१ मा सुरु भएका योजनाहरु सम्पन्न हुदा वडा भित्र करीब ६ कि.मि. भन्दा बढी सडक कालो पत्र सम्पन्न हुने जानकारी गराए। गौरादहको पहिचान बोकेको ऐतिहासिक पोखरीलाई पर्यटकीय स्थल निर्माणकालागि काम अगाडि बढेको जानकारी गराए। वडा भित्र ड्रेन, सडक, रिटेनिंगवाल, पुल कल्भर्ट निर्माणको कार्य निरन्तर भइरहेको बताएका छन। कृषि उत्पादन बढाउदै कृषि लागत न्युनिकरण कार्यलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले काम गरेको जानकारी गराएका थिए। वडामा बिनियोजित बजेटबाट एक आर्थिक बर्षमा गरेका कामको स्थानीय बासिलाई जानकारी गराउने उदेश्यले आयोजना गरिएको समीक्षा गोष्ठीमा वडाध्यक्ष भण्डारीले सामाजिक बिकास, आर्थिक बिकास, वन वातावरण तथा विपद व्यवस्थापन, भौतिक पुर्वाधारका क्षेत्रमा भएका प्रगतिको जानकारी गराएका थिए। वडाध्यक्ष भण्डारीले वडा कार्यलयबाट नागरिकलाई दिइने सेवा अन्तर्गत दैनिकी प्रशासनिक काम प्रमाणित र सिफारिस, व्यावसाय दर्ता र नविकरण, व्याक्तिगत घटना दर्ता, मेलमिलाप समितिको प्रगति विवरण, सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धि सेवाग्राहीले पाएको सेवाका बारेमा जानकारी गराएका थिए।

प्रगति विवरण तथा समिक्षा गोष्ठीमा वडा बासिले जिज्ञासा राखेका थिए। जिज्ञासा राख्ने क्रममा स्थानीय जीवन कार्कीले गौरादह नगर अस्पताललाई जग्गा प्राप्त भइसकेपनि भवनको शिलान्यास कहिले हुन्छ भनी प्रस्न गरेका थिए। स्थानीय गोबिन्द कडेलले स्थानीय सरकारले कृषि क्षेत्रमा किसानलाई राहात मिल्नेगरि बजेट बिनियोजन गर्नुपर्ने धारणा राखेका थिए। स्थानीय कृष्ण ताम्राले वडा नं.१ को मोती टोल बिकास संस्था भित्र सडकका अवस्था दहिनिय रहेकाले त्यस तर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराएकी थिइन। कार्यक्रममा गौरादह नगरपालिका उपमेयर जलबर्षा राजवंशीले स्थानीय सरकारले नगर भित्र समान रुपमा बिकास निर्माणका काम गरेको धारणा राखेकी थिइन।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले कार्यक्रममा उपस्थित नगरवासिलाई उपभोक्ता समिति र ठेक्काबाट सम्पन्न गरिने योजनाका बारेमा जानकारी गराउदै नगरलाई समुन्नत नगर बनाउन स्थानीय सरकार लागिपरेको बताएका थिए।वडा सदस्य अन्जु निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सदस्य केसर बहादुर खवासले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया