Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

काठ्माडौं, २४ पुस २०८० । दक्षिण कोरियास्थित पानी जहाज निर्माण ‘शीप बिल्डिङ’ क्षेत्रमा काम गर्न जान भाषा परीक्षामा सामेल भएका युवाहरूले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षा दिन पाउने सहमति जुटेको छ।

वैदेशिक रोजगार विभाग र कोरियाको मानव संशाधन विभाग (एचआरडी) का अधिकारीहरूबीच भएको छलफलमा सहमति जुटेको हो।

सहमति अनुसार विभिन्न तीन चरणमा परीक्षा हुनेछ। २० जनवरीबाट तीन चरणमा परीक्षा लिने गरी तालिका समेत बनिसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

उनका अनुसार पहिलो चरणमा ४७ हजारको परीक्षा हुनेछ। दोस्रो चरणमा ८० हजार र बाँकी ३५ हजारभन्दा बढीको तेस्रो चरणमा परीक्षा हुनेछ। प्रत्येक दिन परीक्षामा एक हजार जना सहभागी गराइने उल्लेख गरिएको छ।

यो वर्ष उत्पादन क्षेत्रतर्फ कुल एक लाख ६४ हजार आवेदन परेको छ। भाषा तथा सीप परीक्षा उत्तीर्ण भएका करिब २० देखि २५ हजार हाराहारीमा कोरियाले लैजाने उल्लेख गरिएको छ। यसअघि कोरियाले एकै वर्षमा फरक क्षेत्रमा आवेदन दिन नपाउने पत्र शाखालाई पठाएको थियो।

उक्त पत्रअनुसार शीप बिल्डिङमा सहभागी भएर अनुत्तीर्ण भएका ३० हजार बढीले उत्पादन क्षेत्रका भाषा परीक्षामा आवेदन दिन पाएका थिएनन्। त्यसपछि सहभागी हुन पाउनुपर्ने माग राख्दै १८ जनाले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले मुद्दा दायर गर्ने १८ जनालाई परीक्षामा सामेल गराउन आदेश दिएपछि बाँकी अन्य आन्दोलनमा उत्रिएका थिए।

आन्दोलनका क्रममा क्रममा दुई जना युवाको ज्यान समेत गुमेको थियो। यो घटनापछि अदालतले शीप बिल्डिङमा सहभागी सबैलाई उत्पादन क्षेत्रको परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिएको थियो।

त्यसपछि यहाँको अदालतको आदेश र सरकारको निर्णय कोरियाली सरकारले मान्छ कि मान्दैन भन्ने प्रश्न उठिरहेको थियो। सोमबार यो विषयमा कोरिया सहमत भएको हो।

तपाईको प्रतिक्रिया