Online Bichar
बुधबार, चैत्र ०५, २०८१ | Wednesday, March 19, 2025

विराटनगर, २४ पुस २०८० । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै मोरङमा ट्राफिक प्रहरीले सवारीसाधनमा ‘रिफ्लेक्टर’ टाँस्ने अभियान सञ्चालन गरेको छ।

हुस्सु लागेका बेला ‘रिफ्लेक्टर’ (टल्किने स्टिर) सवारीसाधनमा टाँस्न थालिएको हो। ‘रिफ्लेक्टर’ले रातको समयमा पनि प्रभावकारी काम गर्छ। यस्तो स्टिकरले दुर्घटना न्यूनीकरणका मद्दत पुग्ने ट्राफिक प्रहरीको बुझाइ छ। हुस्सु लागेका बेला हुनसक्ने दुर्घटना रोक्न ग्रामीण एवं सहरी क्षेत्रलाई लक्षित गरेर सवारीसाधनमा ‘रिफ्लेक्टर’ टाँस्ने अभियान सञ्चालन गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन न्यौपानेले बताए।

उनका अनुसार विराटनगरको हाटखोला, बसपार्क, रानी, कञ्चनबारी, पुष्पलाल चोक, तीनैपैनीसहित मोरङको बूढीगंगा, गछिया, विराटचोक, बेलबारी, केराबारी, पथरीशनिश्चरे, उर्लाबारी, सिजुवा, रंगेली, कर्सियालगायत दर्जन बढी स्थानमा एकैपटक अभियान सञ्चालन गरिएको छ। अभियानलाई सफल बनाउन मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित विभिन्न ट्राफिक प्रहरी पोस्टबाट जुनियर प्रहरी अधिकृतको नेतृत्वमा टोली परिचालन गरिएको उनले बताए।

हुस्सु लागेका बेला र रातको समयमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्दा दुर्घटनाको जोखिम कम हुने न्यौपानेको भनाइ छ। दुर्घटना न्यूनीकरणका लागि ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको जानकारी उनले दिए।

‘हुस्सु लागेका बेला र रातको समयमा दुर्घटनाको जोखिम धेरै हुन्छ,’ बूढीगंगास्थित ट्राफिक प्रहरी पोस्ट नेमुवाका इन्चार्ज एवं असइ (प्रहरी सहायक निरीक्षक) तुलामणि आचार्यले भने, ‘टल्किएर परबाटै प्रष्टसँग देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्दा दुर्घटनाको जोखिम हुँदैन।’ दुर्घटना रोक्न मौसम अनुसार ट्राफिक प्रहरीले विभिन्न उपाय अवलम्बन गर्ने गरेको आचार्यले बताए।

ट्राफिक प्रहरी पोस्ट उर्लाबारीका इन्चार्ज एवं असइ किशोर निरौलाले हुस्सु लागेका बेला सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई आवश्यक प्रशिक्षणसमेत दिने गरिएको बताए। ‘गाडीमा ‘फग लाइट’को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आग्रह गर्ने गरिएको छ,’ निरौलाले भने, ‘बाटो काट्दा ‘साइड लाइट’को प्रयोगदेखि ट्राफिक नियमको पालनामा विशेष जोड दिएर प्रशिक्षण दिने गरिएको छ।’ साथै सवारी चेकजाँच तीव्र बनाएर ‘वाइपर’को प्रयोगमा समेत जोड दिने गरिएको उनले बताए।

विराटनगरस्थित ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकका इन्चार्ज एवं असइ मोतीराज दाहालले हुस्सु लागेका बेला नजिकैको वस्तुसमेत नदेखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले तीव्र गतिमा सवारीसाधन नचलाउन सबैमा अनुरोध गर्ने गरिएको बताए। दाहालका अनुसार हुस्सु लाग्ने क्रम बढेसँगै सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्ने कार्यलाई तीव्र पारिएको छ।

‘रातको समय र हुस्सु लागेका बेला अगाडि नदेखिने हुँदा अन्य सवारीसाधन ठोक्किएर दुर्घटना बढी हुने गरेको पाइयो,’ ट्राफिकका इन्सपेक्टर न्यौपाने भन्छन्, ‘त्यही भएकाले कुनै उज्यालो पर्नासाथ टल्कने ‘रिफलेक्टर’ सवारीसाधनमा राख्ने अभियान चलाइएको हो।’ ‘रिफ्लेक्टर’ टल्किने भएका कारण पछाडिबाट आउने सवारी साधनले राम्रोसँग देख्ने र ठोक्किएर दुर्घटना हुन नपाउने उनको भनाइ छ।

त्योबाहेक सवारी दुर्घटना रोक्नलाई चालक, पैदलयात्रु, विद्यार्थी, तथा सर्वसाधारणलाई समेत भेला जम्मा पारेर आवश्यक प्रशिक्षण दिने र सचेतनामूलक कार्यक्रम गर्ने गरिएको न्यौपानेको भनाइ छ। ‘पैदलयात्रुलाई बाटो काट्ने तरिका सिकाउँदै चालकलाई तीव्र गतिमा सवारीसाधन सञ्चालन नगर्न सचेत गर्ने गरिएको छ,’ उनले भने, ‘साथै सचेतनामूलक कार्यक्रम र ट्राफिक कारबाहीलाई तीव्र पारिएको छ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका सइ (प्रहरी नायव निरीक्षक) सुन्दरश्याम पोखरेलका अनुसार नियम उल्लंघन गर्ने र सम्झाईबुझाई गर्दा पनि अटेर गर्ने सवारीका चालकलाई भने ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गर्ने गरिएको छ।

अहिले सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउने, चालकलाई आवश्यक प्रशिक्षण दिने, सम्झाईबुझाई गर्ने, दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गर्ने, शैक्षिक संस्था एवं सार्वजनिकस्थलमा विभिन्न खाले सचेतनामूलक कार्यक्रम चलाउने र आम नागरिक एवं चालकलाई भेलाजम्मा पारेर ट्राफिक नियमका बारेमा जानकारी दिने काम ट्राफिकको प्राथमिकतामा परेको सइ पोखरेलले बताए।

 

तपाईको प्रतिक्रिया