Online Bichar
बुधबार, आश्विन ०२, २०८१ | Wednesday, September 18, 2024

बुटवल, २३ पुस २०८० । बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२औँ संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० हुन लागेको हो ।

प्राङ्गारिक खेतीको विकास तथा कृषिमा व्यवसायीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले विशिष्टिकृत ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला गर्न लागिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो । २०६२ सालमा पहिलोपटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य सङ्घले त्यसयता नियमित रुपमा विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष अर्यालले कृषि प्रविधिको प्रयोग, प्राङ्गारिक कृषिमा व्यवसायिक विकास, कृषिमा लगानी आकर्षण गरी युवा सहभागिता तथा प्राङ्गारिक उत्पादनमा उपभोक्ताको आकर्षण बढाउनको लागि पनि यो पटक राष्ट्रिय स्तरको प्राङ्गारिक कृषि मेला गर्न लागिएको बताउनु भयो ।

सङ्घले यस क्षेत्रको आर्थिक विकासका लागि उद्योग वाणिज्य, कृषि तथा पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न प्रकारका प्रबद्र्धनात्मक कार्यहरु सञ्चालन गर्दै आएको बताउँदै उहाँले विगतको मेलाले कृषिको व्यवसायिक विकासमा सहयोग पुगेको दावी गर्नुभयो ।

सङ्घका महासचिव मुक्ति अधिकारीले कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणमा टेवा पु¥याउन, कृषिमा आधारित उद्योगहरुको बजार विकास, उपभोक्तामाझ स्थानीय कृषि उत्पादनको प्रचार–प्रसार, बजार पहिचान, आयात प्रतिस्थापन तथा निर्यात सम्भावनाको पहिचान, रैथाने तथा प्राङ्गारिक वस्तुहरुको महत्व तथा बजार बिस्तारमा यो मेलाले भूमिका खेल्ने बताउनु भयो ।

कृषि मेलामा कृषि उत्पादन, प्रविधि, माछा तथा पशुपंछी समेतगरी बढीमा १५० स्टल सहभागि गराउने र कृषि मेलामा कृषि उत्पादनमा आधारित फूड फेष्टिबल पनि गरिने सङ्घले जनाएको छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया