Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौं, १२ पुस २०८० । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै इपिएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन्। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको हो।

केही समयअघि सीप बिल्डिङका सुरज पाठकसहित १८ जनाले उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन भर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले भनेको छ,‘सो निवेदनको सम्बन्धमा उच्च अदालत पाटनबाट २०८०/९/५ मा जारी भएको अन्तरिम आदेशमा निवेदकहरूको हकमा उल्लेखित २०८०/८/१९ को सूचनाबमोजिम २०८०/९/२ बाट खुल्ला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनू र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनू भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी भएको हुँदा सम्बद्ध सबै निवेदकहरूमा जानकारीको लागि अनुरोध छ।’

इपिएस कोरिया शाखाले यीबाहेक अरूका लागि तत्काल केही नहुने जनाएको छ। इपिएस कोरिया शाखाका अनुसार उनीहरूले भोलि (पुस १३ गते) आवेदन फाराम भर्नका लागि बोलाएको छ।

तपाईको प्रतिक्रिया