Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

झापा, २७ मंसिर २०८० । दशगजासँग जोडिएको मेची नदीको बगरमा दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन्।

मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए। फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो।

आधुनिक प्रविधिबाट ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए।

उनका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ। आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन्।

फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ।

एघार बिघामा दुई हजार तीन सय ३२ क्विन्टल आलु फलेको र विर्तामोडलगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल तीन हजार सात सयका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिए।

आलु व्यापारीले फार्मबाट प्रतिकेजी ३७ का दरले लैजाने गरेको उक्त आलु हाल खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० सम्ममा बिक्री हुने गरेको छ। रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ।

गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो। आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताए।

त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गरेका थिए।

खनाल पाँच वर्ष कोरियामा वैदेशिक रोजगारीमा गएर आएका थिए। विदेशबाट फर्केपछि उनी परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लागेका थिए। अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उनको सोच छ।रासस

 

तपाईको प्रतिक्रिया