जेबि खड्का
गौरादह, २१ असोज २०८० । गौरादह-७ मा रहेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभाले अमरदास सिवाकोटीको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा अरुण कुमार शाह, सचिबमा चुडा बहादुर भुजेल र कोषाध्यक्षमा पुर्ण बहादुर डाँगी रहेका छन।
समितिका अन्य सदस्यहरुमा दुर्गामणी दाहाल, सम्पतलाल राजवंशी, सुमित्रा खरेल, यसोदा दाहाल र एलिजा दर्नाल रहेका छन। त्यसैगरी साधारणसभाले राजेन्द्र कुमार सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ। लेखा समिति सदस्यहरुमा टेक प्रसाद अधिकारी र गंगा कार्की रहेका छन।
दुर्गा सामुदायिक भवनको सभाहलमा सम्पन्न साधारणसभामा अध्यक्ष मान बहादुर घिमिरे अस्वस्थताका कारण अध्यक्षको प्रतिबेदन संस्थाका उपाध्यक्ष अरुण कुमार शाहले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। शाहद्वारा प्रस्तुत प्रतिबेदनमा शेयर निति, शेयर कित्ता कर्जा नीति र ब्याज दर नीति सार्वजनिक गरेका थिए। संस्थाबाट सेयर सदस्यहरुले लघुवित्त कर्जा, युवा स्वरोजगार कोष कर्जा, आकस्मिक उपचार कर्जा, औषधि उपचार कर्जा, लघु औधोगिक कर्जा, व्यापारीक कर्जा, कृषि पशु मत्स्य पालन तथा कृषि औजार कर्जा, कर्मचारी आवास कर्जा, बैदेशीक रोजगार कर्जा, कर्मचारी संचयकोष कर्जा, शैक्षिक कर्जा र ब्यापारीक जवानत कर्जा लगायतका सेवा उपलब्ध गराएको प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाका कोषाध्यक्ष पुर्ण बहादुर डाँगीले आर्थिक बर्ष २०८०/०८१ मा संस्थाले १ करोड ९ लाख ७६ हजार ४ सय ४ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको प्रतिबेदन प्रस्तुत गरेका थिए। डाँगी द्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिबेदनमा आर्थिक बर्ष २०७९/०८० मा संस्थाले १४ करोड ७७ लाख २१ हजार ८ सय ४६ को कुल कारोवार गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए।
कुल सेयर पुँजी १ करोड ९२ लाख ४१ हजार ६ सय भएको संस्थाले ३ लाख ७० हजार १ सय ७ खुद मुनाफा गरेको छ। लेखा समिति संयोजक राजेन्द्र कुमार सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।साधारणसभाका अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने १५ जना, उत्कृष्ट कर्जा कारोवारी गर्ने १५ जना, आजिवन सदस्य ३ जना, जेष्ठ नागरिक ४ जना, गत बर्षको एस ई ई परीक्षामा सामुदायिक र संस्थागत बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीहरु ४ जनालाई पुरस्कृत गरिएको संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले जानकारी गराए।संस्थाका अध्यक्ष मान बहादुर घिमिरेको सभापतित्वमा सम्पन्न साधारणसभामा प्रेम दंगालले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका सदस्य चुडा बहादुर भुजेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब सूर्यभक्त सिटौलाले कार्यक्रम संचालन गरेका थिए।