Online Bichar
मंगलबार, आश्विन २२, २०८१ | Tuesday, October 8, 2024

झापा, २७ भदौ २०८० । झापामा डेंगी संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । यसक्रममा थप एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नं. ५ मा डेंगी सङ्क्रमणबाट एक जना महिलाको मृत्यु भएको हो । आफ्नो घरमा बहालमा बस्ने भारत घर भएकी करिब ३५ वर्षीया महिलाको हिजो मृत्यु भएको बिर्तामोड-५ निवासी एबीसी नेपालकी अध्यक्ष कन्चना ढकालले बताइन् ।

चार दिनअघि ती महिलालाई ज्वरो आएपछि कञ्चनजङ्घा हस्पिटल लगिएको थियो । त्यहाँ उनलाई डेंगी संक्रमण पुष्टि भएको थियो । कञ्चनजङ्घा हस्पिटलमा उपचार सम्भव नभएपछि हिजो भारतको सिलिगुडी लैजाँदै गर्दा उनको मृत्यु भएको ढकालले जानकारी दिइन् । सो घटनाबारे बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरिसकेको छैन । योसहित बिर्तामोड ५ मा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने झापामा ६ पुगेको छ । साउनमा तीन र भदौमा तीन जनाको मृत्यु भएको हो ।

झापामा डेंगी सङ्क्रमितको दर उच्च रहेको छ । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २ हजार ४३९ पुगेको छ । ७ हजार ३८ जनाको परीक्षण गर्दा त्यति जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले बताए । उनका अनुसार ११९ जना डेंगी संक्रमित अस्पतालमा उपचाररत रहेका छन् । भदौ १ देखि आज २७ गतेसम्म १ हजार १२३ जना संक्रमित भएका छन् । जुन दर दिनको ४१ जना हुन आउँछ । जिल्लाका केही पालिकाहरूले विषादी छर्किने कार्य गरिरहेपनि जिल्लाका शहरी क्षेत्रमा डेंगी संक्रमण बढ्दो छ ।

 

तपाईको प्रतिक्रिया