Online Bichar
बुधबार, आश्विन ०२, २०८१ | Wednesday, September 18, 2024

धनगढी, २७ भदौ २०८० । जिल्ला प्रशासन कार्यालय कैलालीले अवैध रुपमा सञ्चालन भइरहेका धनगढीका दुई अस्पताल तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।

धनगढीको चटकपुरस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र संजिवनी अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको बजार अनुगमन समितिले अनुगमनको क्रममा ती दुवै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएपछि तुरुन्त बन्द गर्न निर्देशन दिइएको हो ।

अनुमति विना सञ्चालित स्वस्तिक हस्पिटलले केही साता अघि मात्रै मृगौलाको पत्थरीको अप्रेसनको क्रममा एक बिरामीको मिर्गौला झिकेपछि बिरामीको ज्यान गएको थियो ।

स्थानीय प्रशासनको निर्देशनपछि बुधबारबाट ती अस्पताल बन्द हुने भएका हुन् । निर्देशनको अवज्ञा गरिए बुधबार अस्पताल सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

१५ शय्याको अस्पताल सञ्चालनको लागि स्थानीय तह र २५ शय्यामाथिको अस्पताल सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय र एक सय शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिनुपर्ने प्रावधान छ ।

 

तपाईको प्रतिक्रिया